एनएमसीको पाँचौँ व्यवसाय चिया उद्योग, आगामी सिजनबाट उद्योग सञ्चालनमा आउने

2020-08-10 मा प्रकाशित

डम्बर बराल

सुरेन्द्रनगर,२६ साउन । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुआयामिक व्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो ।
मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई प्राथमिकता दिएको छ ।
२०६६ सालमा समूह हुँदै सहकारी संस्थामा रूपान्तरित भएको सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले १ करोड १६ लाखको लागतमा ग्रिन टी र अर्थाेडक्स चिया प्रशोधन कारखाना निर्माण सुरु गरेको थियो । चिया प्रशोधन कारखाना निर्माणको लागि नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी विभागबाट ६९ लाख ९० हजार अनुदान प्राप्त भएको थियो । दुई सहकारी संस्थाहरूबीच एकता भएसँगै यस आर्थिक वर्षबाट हरियो पत्ती प्रशोधन गरी तयारी चिया आफ्नै प्याकेजिङमा सहकारीले बजारमा पठाउने तयारी गरेको चिया उद्योगका संयोजक दिलीप सुब्बाले बताउनुभयो ।
“कारखानामा सम्पूर्ण मेसिन आइसकेको छ,” उहाँले भन्नुभयो “अब प्राविधिक झिकाएर मेसिन सेटल गर्न र केही संरचना निर्माण गर्न बाँकी छ । त्यसको लागत इस्टिमेट तयार हँुदै छ । लागत इस्टिमेट तयार भएपछि चाँडै निर्माणका सम्पूर्ण काम पूरा गरेर आगामी फागुनदेखि प्रशोधन सुरु गर्छौँ ।” सहकारीले उद्योग परिसरमा कार्यालय , गेट, सुरक्षागार्ड कक्ष, कम्पाउण्डवाल तथा शौचालय निर्माणको काम भदौको दोस्रो सातबाट सुरुगर्ने कर्पाेरेट प्रशासन विभाग प्रमुख चेतन शर्मा पौडेलले बताउनु भयो । सधैँ मूल्यको लडाइँ लड्दै आएका चिया किसान भने नेपाल बहुउद्देश्यीय सहकारीले चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याउने भएपछि उचित मूल्य पाइने कुरामा आशावादी देखिएका छन् ।


स्थापनाको सुरुमा बैङ्किङ व्यसाय मात्र सञ्चालन गर्दै आएको भए पनि २०७२ सालबाट बहुव्यवसायको रूपमा फड्को मार्दै आएको नेपाल बहुउदेश्यीय सहकारी संस्थाले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।
हाल सहकारी संस्थाले बैङ्किङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमुना कृषि फर्म, सहकारी पसल व्यवसाय सुरु गरिसकेको छ भने पाँचौँ व्यवसायको रूपमा चिया व्यवसाय सुरु हुन लागेको सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनु भयो । “हामी सधैँ सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्दै आएका छौँ । आगामी दिनमा थप व्यवसायसमेतको योजना बनाउने छौँ,” उहाँले भन्नुभयो “सदस्यहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम हाम्रो सहकारीको अवधारणा हो ।” चिया प्रशोधन तथा बाँकी संरचना निर्माणको लागि सहकारीले यस आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेको र भदौ दोस्रो साताबाट निर्माणको कामलाई तीव्रता दिने अध्यक्ष उप्रेतीको भनाइ छ । हाल अर्थाेडक्स र ग्रिन टी उत्पादन गर्ने र पछि क्रमशः सिटिसी चिया उत्पादन र बजारीकरणको सम्भाव्यता अध्ययन जारी राख्ने उहाँले बताउनु भयो । सहकारीले हरेक व्यवसायलाई व्यवस्थित सञ्चालन गर्न लगानी सीमा समेत निर्धारण गरेको छ ।सहकारीले बैङ्किङ व्यवसायतर्फ ६९ करोड, डेरी व्यवसायतर्फ २० करोड, एकीकृत नमूना कृषि फर्मतर्फ २५ करोड, सहकारी पसल व्यवसायमा २५ करोड, र चिया प्रशोधन व्यवसायमा ५ करोड लगानी सीमा निर्धारण गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले बताउनु भयो ।२०५० सालमा २६ जना सेयर सदस्यहरूको कुल २ लाख ५३ हजार सेयर पूँजीबाट सुरु भएको सहकारी संस्थामा हाल ८५ हजार ४ सय ४५ जना सेयर सदस्य रहेका छन् भने ८८ करोड, ८ लाख, १५ हजार सेयर रकम पुगेको छ । सहकारीेले यस आर्थिक वर्षमा २० हजार ५ सय सेयर सदस्य तथा २० करोड ६१ लाख ८४ हजार सेयर रकम वृद्धि गर्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत उप्रेतीको भनाइ छ ।
सहकारीले २०७२ वैशाख ३ गतेदेखि मेचीनगर ८ स्थित जोरसिमल क्षेत्रमा डेरी उद्योग सञ्चालनमा ल्याएको छ । डेरी उद्योग सञ्चालनमा आएपछि सदस्यहरू व्यावसायिक गाईपालनतर्फ अगाडि बढेको र उनीहरूको जीवन स्तर उक्सिँदै गएको डेरी उद्योगका संयोजक एवम् सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताउनुभयो । डेरी उद्योग सञ्चालनमा हालसम्म १५ करोड लगानी भइसकेको उहाँको भनाइ छ । डेरी उद्योगले सदस्यद्वारा उत्पादित दुध उचित मूल्यमा खरिद गरेर प्रशोधित दुध, आइसव्रिmम, योगहर्ट, दही, घिउ, पनिर मिठाईलगायतका विभिन्न परिकार बनाएर बजारमा पठाउने गरेको डेरी उद्योगका प्रशासनिक प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । सहकारीले तेस्रो व्यवसायको रूपमा मेचीनगर १४ मा नमुना कृषि परियोजना सञ्चालन गरेको छ । सो क्षेत्रमा सहकारीले आफ्ना सदस्यहरूलाई कृषितर्फ आकर्षित गर्न विभिन्न समयमा बिउबिजन सम्बन्धी प्रशिक्षण दिँदै आएको छ भने गाईफर्म माछापालनलगायत विभिन्न कार्यक्रम अगाडि बढाएको छ । सहकारीले यसै वर्षबाट एक सय गाई पाल्ने योजनाका साथ गाई फर्म निर्माणको कार्यक्रम अघि सारेको एनएमसी नमूना कृषि फर्मका प्रशासनिक प्रमुख भुपाल गौतमले बताउनुभयो ।आधुनिक र व्यवसायिक कृषि उत्पादनमा लाग्न आफ्ना सदस्यहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालित कृषि फर्ममा हाल सम्म १२ करोड लगानी भइसकेको नमूना कृषि फर्मका संयोजक केशव पोख्रेलको भनाइ छ ।त्यसैगरीे २०७६ जेठदेखि सहकारी पसललाई व्यावसायिक रूप दिएको सहकारीले जिल्लाका विभिन्न क्षेत्रमा ६ वटा सहकारी पसल सञ्चालनमा ल्याइसकेको छ भने यसै आर्थिक वर्षमा थप १० वटा पसल सञ्चालन गरिने सहकारी पसलका प्रशासनिक प्रमुख नवीन भण्डारीले जानकारी दिनुभयो ।
सहकारी पसल सञ्चालनमा हालसम्म ५ करोड लगानी भइसकेको सहकारी पसलका संयोजक भगवती घिमिरेको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु