मेचीनगरमा  प्रदेशकै पहिलो पाँचतारे होटल ‘मेची क्राउन’ सञ्चालन

2020-10-01 मा प्रकाशित

झापा ।  नेपालको पूर्वीद्वार मेचीनगरमा ठूलो लगानीको पाँच तारे होटल मेची क्राउन सञ्चालन भएको छ । बुधवार साँझ होटलमै पत्रकार सम्मेलन गरी सञ्चालकहरुले होटलका बारेमा जानकारी दिए ।

बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई सोझै आकर्षित गर्ने उद्देश्य राखेर चन्द्रगढी एयरपोर्टबाट ९ किलोमिटर उत्तरपूर्व र काँकरभिट्टाबाट ३ किलोमिटर पश्चिम जोरसिमल भनिने स्थानमा राजमार्गसँगै सटेर निर्माण भएको छ होटलको विशाल संरचना । यो स्थान मेचीनगर नगरपालिकाको वडा नं। ८ मा पर्दछ । करीव ८ बिगाहा क्षेत्रफलमा फैलिएको मेची क्राउन परिसरमा होटल मात्र नभएर क्यासिनो, जिमहाउस, व्यापारिक मल, स्वीमिङ पुललगायतका सुविधादायक भौतिक संरचना समेत छन् ।

एक नम्बर प्रदेशकै पहिलो पाँच तारे होटलको रुपमा मेची क्राउनले करीव ९०० जनालाई रोजगारी प्रदान गर्ने भेगास सिटी इन्टरटेन्मेनट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिएका छन् । उनले होटलमा १५० करोड लगानी भएको र लजमा १०५ वटा लक्जरियस कोठा रहेको बताए ।

होटल परिसरमै हरियाली पार्क, पानीको आकर्षक फोहोरा, हेलीप्याड, पार्किङ जोन र स्वीमिङ पुलको सुविधा उपलब्ध रहेको कार्कीले बताए । ‘भिजिट २०२०’ को सुरुमै सञ्चालनमा ल्याउने तयारी भए तापनि केही ढिलाई भएको र होटलले विदेशी पर्यटकलाई लक्षित गर्ने व्यवस्थापन समूहको भनाई छ ।

सम्मेलन, सेमिनार, बैठक र विवाहलगायतका कार्यक्रमहरु होटलमा गर्न सकिने बताइएको छ । यहाँ निजी हेलिप्याडको व्यवस्था रहेको छ भने कम्तिमा पनि पाँचसय सवारीसाधन पार्किङ गर्न सकिने छ । होटल मेची क्राउनका १०५ कोठा मध्ये ५ मेची सुइट्स रुम, १० वटा एक्जुकेटिभ भिला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम उपलब्ध छन् । यसमा दुईवटा रेष्टुरेन्ट छन् ।

संसारभरिका खानाको स्वादका साथै नेपालको आदिवासीहरुको विशिष्ट मौलिक परिकार समेत होटलमा उपलब्ध हुने सञ्चालकहरले जानकारी दिए । पत्रकार सम्मेलनमा काठमाडौं, विराटनगर, इटहरी, विर्तामोड र मेचीनगरबाट आइपुगेका पत्रकारहरुको जमघट थियो । पिक हस्पिटालिटीले यस होटलको व्यवस्थापन सम्हाल्ने छ । चार जनाको समूहमा रहेको हस्पिटालिटीमा यादवप्रसाद पाण्डे, दीपक लेखक, विवेक विष्ट र विशान शाह रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु