अधिकारीलाई गाउँपालिकाको सम्मान

2020-10-05 मा प्रकाशित

मेचीनगर, १९ असोज । तत्कालीन राजगढ गाविसका सचिव इन्द्रप्रसाद अधिकारीलाई बाह्रदशी गाउँपालिकाले आज सम्मान गरेको छ ।

बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो ।सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहदा राजगढको विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।

केही समयदेखि विरामी भएर स्वास्थ्य लाभ गरिहेका अधिकारीलाई गाउँपालिका परिवारले सोमबार अधिकारीकै घरैमा पुगेर सम्मान गरेको हो । उनी हाल बिर्तामोड नगरपालिका १ मा बसोवास गर्दै आएका छन् ।

सम्मानित अधिकारीलाई गाउँपालिकाका अध्यक्ष राजवंशीसहित उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत चित्राप्रसाद गुरागाई, वाह्रदशी–१ का वडाध्यक्ष शम्भूसिंह राजवंशी, २ का अध्यक्ष यादव मिश्र, ३ का विरेन्द्रप्रसाद राजवंशी, ४ का अध्यक्ष समिम मिया, ५ का अध्यक्ष भुपेन्द्र कटुवाल, ६ का वडाध्यक्ष रत्नप्रकाश योङ्हाङ, गाउँपालिकाका अधिकृत चेतनाथ न्यौपाने, योजना अधिकृत तेजप्रसाद रेग्मी लगायतले समाजसेवी अधिकारीको स्वास्थ्य लाभको कामना गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।

समाजसेवी अधिकारीले गरेका सामाजिक कामको स्मरण गर्दै अध्यक्ष राजवंशीले ‘इन्द्र सविच’का नामले परिचित अधिकारी सिङ्गो आदिवासीको संरक्षक समेत भएको बताए ।
आफ्ना बुवा मोटापानी राजवंशी २०१८ सालमा राजगढको प्रधानपञ्च भएको समयमा अधिकारीकै पहलमा पशुपति माविको जग्गा व्यवस्थापन, प्रहरी चौकी राजगढ र सामुदायिक अध्ययन केन्द्रका लागि १५ कठ्ठा जमिन आफ्ना वुवाले दिएको स्मरण गरे ।

इन्द्र सचिवले त्यसबेला मेरा वुवालाई जग्गा दिन प्रेरित नगरेको भए अहिलेको राजगढ त्यस्तो हुने थिएन अध्यक्ष राजवंशीले भने – ‘मेरो वुवा मोटापानीलाई त्यो समयमा हात उठाएर प्रधानपञ्च बनाउन समेत सचिवको भूमिका अहम छ ।’

इन्द्र सचिवका नामले परिचित अधिकारीकै पहलमा पशुपति मावि राजगढसहित तीन वटा विद्यालयलाई अधिकारीले त्यो समयमा एक सय ५ विगाह जग्गा व्यवस्थापन गरेको अध्यक्ष राजवंशीले बताए । अधिकारीकै पहलमा पशुपति माविको नाममा मात्रै अहिले ९४ विगाह जमिन रहेको छ ।कार्यक्रममा शिक्षा सेवी गंगाप्रसाद अधिकारी, समाजसेवी रामप्रसाद दुलाल, पशुपति माविका प्रधानाध्यापक थीरकुमार दाहाल लगायतको पनि सहभागीता थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु