काँकरभिट्टामा बजार अनुगमन शुरु , अनुगमनका क्रममा लाखौंका सामान जफत

2020-10-06 मा प्रकाशित

मेचीनगर, २० असोज ÷ झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ मेचीनगर, इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रिएका, नेपालमा बेचबिखनका लागि प्रतिबन्ध भएका तथा उत्पादन मिति र व्याज नम्बर नभएका खाद्य र पेयपदार्थ जफत गरेको हो ।

खासगरी उपभोक्ता र विक्रेतालाई सचेत गराउनका लागि बजार अनुगमन गरिएको र त्यसक्रममा म्याद गुज्रिएका, नेपालमा बेचबिखनका लागि प्रतिबन्ध भएका तथा उत्पादन मिति र व्याज नम्बर नभएका खाद्य र पेयपदार्थ जफत गरेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो ।

अनुगमन टोलीले खाद्य वस्तुको उपभोग्य मिति, उत्पादन मिति, उत्पादकको विवरण लगायत अनिवार्य रुपमा लेवलमा हुनुपर्ने विवरण हरु मूल्य सूचीलगायतको कुरा हेरेको थियो । दशैं तिहार लगायत नजिकिँदै गरेका चाडपर्वका बखत बजारमा खाद्य बस्तुको अभाव र मुल्य बृद्घि हुने भएकाले यसलाई नियन्त्रण गर्नका लागि पनि बजार अनुगमनको आवश्यकता पर्ने टोलीको भनाई छ । खासगरी चाडपर्व नजिकिँदै गर्दा बजारमा व्यपारीले आफुखुशी मुल्य बृद्घि गर्ने भएकाले यसको अन्त्यका लागि बजार अनुगमन गरिएको र यसलाई निरन्तरता दिने नगर उपप्रमुख तथा नगरस्तरीय अनुगमन टोलीका संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

अनुगमका क्रममा धेरै पसलमा म्याद गुज्रिएका र खान अयोग्य जस्ले मानव शरिरमा हानी गर्छ त्यस्ता खाद्य पदार्थ समेत फेला परेकाले पहिलो पटक सम्झाई बुझाई गरिएको उहाँको भनाई छ । दालमोठ, गहुको चिउरा, फुरनदाना, पिरती पेयपदार्थ टोलीले जफत गरेको हो ।

अधिकाँश व्यवसायीहरुले मुल्य सूची अद्यवधिक नगरेको, व्यवसायिक प्रमाण पत्र समयमै नवीकरण नगरेको, आफ्ना पसलमा नापतौलका लागि राखिएका विद्युतीय कम्युटर काटाहरु प्रयोग गर्न सम्बन्धित कार्यालयबाट इजाजत नलिएको, एउटा व्यवसाय दर्ता गरेर अन्य प्रकृतिको व्यवसाय सञ्चालन गरिरहेको अनुगमनका क्रममा टोलीले फेला पारेको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताउनुभयो ।व्यवसायीहरुले आफ्ना प्रमाण पत्र चुस्त दुस्त नराखेको फेला परेपछि पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई सवै प्रमाण पत्र अद्यवाधिक गर्न निर्देशन दिएको उहाँको भनाई छ । टोलीले काँकरभिट्टाका सुशीला भेराइटिज, डीसी मल्टि स्टोर, द न्युज भेराइटिज, मोहन किराना पसल, मानसी ट्रेडर्सलगायतका किराना, कष्टमेटिक तथा कोल्ड स्टोरसहित दर्जनौं पसलको अनुगमन गरेको थियो । नेपाल सरकारले प्रतिबन्ध गरेका पेयपदार्थ, खानेतेल खुल्ला नुनलगायतका वस्तु नेपाली बजारमा फेला पर्ने गरेको टोलीले जनाएको छ । म्याद गुज्रिएका, खान अयोग्य खाद्य वस्तुहरु, पेय पदार्थ जफत गरी प्रक्रिया पुर्याएर नष्ट गरीने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीको भनाई छ । उहाँले तिहारका बखत अत्यधिक माग हुने मिर्ठामा मानव शरीरमा हानि गर्ने विभिन्न खाले रंगको प्रयोग हुने भएकाले व्यवसायीलाई सचेत गराइएको जानकारी दिनुभयो ।

यसअघि भारतीय बजार नजीकै रहेको र खुला सीमानाका कारण छिमेकी भारतीय बजारबाट ल्याएर फेण्टा, कोककोला, स्पाईट, माजालगायतका पेयपदार्थ नेपाली बजारमा प्रश्स्तरुपमा पाइने गरिएको भएपनि अहिले सीमा नाका बन्द भएका कारण भारतीय पेयपदार्थ फेला नपरेको टोलीले जनाएका छ । मुल्य सुची नभएका सबै पसललाई अनिवार्य मुल्य सुची राख्न,उपभोग्य मिति सकिना साथ पसल बाट हटाउन समेत व्यवसायी लाई निर्देशन गरिएको छ ।

अनुगमन टोलीमा मेची उद्योग बाणिज्य संघ मेचीनगरका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाघरेलु तथा साना उद्योग कार्यालय झापाक उद्योग अधिकृत दुर्गा वास्तोला, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा मेघराज निरौला इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक शोभा पराजुली मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती,े इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी मेचीनगर नगरपालिकाका नगर प्रहरी सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु