समाजसेवा सुधार संघ झापाले दियो शारीरिक अशक्तका परिवारलाई बाख्रा उपहार

2020-10-09 मा प्रकाशित

मेचीनगर, २३ असोज । समाजसेवा सुधार संघ झापा द्वारा सञ्चालित ५ दिने प्रशिक्षण सम्पन्न भएको छ । तालिम समापनका अवसरमा आयोजकले मेचीनगरका शारीरिक अशक्त २० जनालाई आयआर्जनमा सघाउ पुगोस् भन्ने उद्देश्यले बाख्रा उपहार दिएको छ ।

संघको कार्यालयमा सम्पन्न तालिममा ५ दिन सम्म सहभागि बनेका अति विपन्न अपाङ्गताका परिवारलाई बाख्रा वितरण गएिको हो । मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचे, सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्तीलगायतको उपस्थिति रहेको थियो ।

उपप्रमुख उप्रेतीले अशक्त व्यक्तिको आर्थिक आयआर्जन बढाउनका लागि बाख्रा वितरण कार्यक्रम उदाहरणीय भएको बताइन् । उनले बाख्रा हुर्काएर आफ्नो आयआर्जन बढाउन बाख्रा लैजानेहरुलाई आग्रह गरिन् ।

समाज सेवा सुधार संघका अध्यक्ष धर्म घिमिरेले बितरण गरिएका बाख्राको वीमा नगरपालिकाले गरिदिने र दुई महिना पुग्ने ५० केजीको दरले पशुआहार दाना समेत उपलब्ध गराइएको बताए ।

अपाङगता भएका व्यक्ति कसैबाट आर्थिक रुपमा अपहेलित हुनु नपरोस् भन्ने उद्देश्यले झापामा पहिलोचोटी उनीहरुका परिवारलाई तालिम दिएर बाख्रा वितरण गरिएको उनले बताए ।

राष्ट्रिय शारीरिक अपाङ्ग संघ, समाज सेवा सुधार संघ र अपाङ्ग सहयोग समिति झापाले ती बाख्रा वितरण गरेका हुन् । काठमाडौंमा प्रधान कार्यालय रहेको राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले कोरियन दातृ संस्थाको सहयोगमा बाख्रापालनका लागि रु। पाँच लाख आर्थिक प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष धर्म घिमिरेले बताए ।

उनले प्रत्येक संस्थाले २०÷ २० जना गरी जम्मा झापामा ६० जना शारीरिक अपाङ्गलाई स्थानीय जातका बाख्रा वितरण गर्ने भएको छ । जसमध्ये पहिलोचरणमा मेचीनगरका २० जनालाई दुई दुई वटाका दरले वीउ बाख्रा वितरण गरिएको हो । अरु क्षेत्रमा यसरी नै बाख्रा वितरण गरिने बताइएको छ ।बाख्रा लैजानेहरुले २ वर्षमा दुईवटा पाठा संस्थालाई फिर्ता गर्नु पर्नेछ । भविष्यमा आउने ती पाठालाई फेरि अरु अपाङ्ग व्यक्तिलाई बीउको रुपमा वितरण गरिने संघका उनले बताए ।उनीहरुलाई पाँच दिनसम्म प्रशिक्षक मदनकुमार भण्डारी र कमलप्रसाद खनालले बाख्राको जात, टाट्नोको व्यवस्था, सरसफाई, विरामी भएमा उपचार गर्ने प्रविधि र बाख्रा राख्ने खोरको बारेमा सिकाएका थिए ।अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गंगा उप्रेतीले र सञ्चालन सचिव विष्णु श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु