कृषि र रोजगारी हाम्रो प्राथमिकता वडाध्यक्ष –सिक्देल

2020-10-13 मा प्रकाशित

डम्बर बराल

मेचीनगर÷ लामो समयसम्म विकास निर्माणको पर्खाइमा रहेको मेचीनगर वडा नम्बर १३ को पछिल्लो समय मुहार फेरिँदै गएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर जननिर्वाचित प्रतिनिधि छानिएपछि तीव्र रूपमा सो वडाको विकास हुन थालेको हो ।
भूगोलको हिसाबले अति विकट मानिएको सो वडामा ३ वर्ष यता थुप्रै विकास निर्माणका काम सम्पन्न गरिएको वडाध्यक्ष कृष्ण सिग्देलले बताए । “समृद्घ वडा निर्माणको सपना बोकेर हामी निर्वाचित भएर आयौँ,” उनले भने “सबै सपना त पुरा नहोलान् व्यावसायिक कृषि उत्पादनमा जनतालाई अभिप्रेरित गर्दै रोजगारी सिर्जना गरी वडाको समुन्नत रूपमा विकास गर्नु छ ।” वडाले यस आर्थिक वर्षमा कृषिमा छलाङ मार्ने योजनाका साथ नयाँ कार्यक्रमको घोषण गरेको उनको भनाइ छ ।
वडामा व्यावसायिक कृषि उत्पादन, सिपमूलक तालिम तथा लघु उद्यम सञ्चालन गरिने उनले बताए । वडाले कृषि तथा रोजगारीतर्फ यस आर्थिक वर्षमा ५० लाख बजेट विनियोजनसमेत गरेको छ । वडामा रोजगारी सिर्जना गर्न विभिन्न उद्योग सञ्चालन गरिने वडाध्यक्ष सिग्देलको भनाइ छ । हाल ढाकाको कपडा बुन्ने काम भइरहेको र आगामी दिनमा मकैको विभिन्न परिकार चिउरा, चामल, गहँुका विभिन्न परिकार तथा भुजिया, टि सर्ट, पहाडे कागजलगायत विभिन्न वस्तु उत्पादनलाई वडाले प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।
वडाले कृषि क्षेत्रमा समेत फड्को मार्ने योजना अघि सारेको छ । किसानलाई बेमौसमी तरकारी तथा फलफूल उत्पादनमा अभिप्रेरित गरी भरपर्दो बजारको व्यवस्थासमेत गर्र्ने कार्यायोजना बनाएको छ । समूहगत कृषि उत्पादन गर्ने उद्देश्यले वडाले क्षेत्रगत रूपमा ६ वटा समूह गठन गरी ६ वटै समूहमा तरकारी नर्सरीको समेत व्यवस्था मिलाउने भएको छ । कृषिमा आत्मनिर्भर वडाको रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढेको वडाले किसानको खेत जोत्न वडाकै तर्फबाट ट्याक्टरको व्यवस्था मिलाउने र सोबापत किसानले ट्याक्टरमा तेल हालेर ड्राइभरको पारिश्रमिकबापत घण्टाको १ सय ५० रुपैयाँ तथा ममर्त सम्भार प्रतिघण्टा २० रुपैयाँ जम्मा गर्नुपर्ने वडाले योजना बनाएको छ । किसानले उत्पादन गरेको हरेक कृषिजन्य उत्पादनलाई वडाले बजारीकरणको व्यवस्थासमेत मिलाउने वडाध्यक्ष सिग्देलले बताए ।योसँगै वडाले पर्यटन क्षेत्रको विकासमा समेत काम गरिरहेको छ ।


पूर्वको फेवातालको रूपमा चिनिएको निचाझोडा सिमसार क्षेत्रको विकासमा हालसम्म ७२ लाख खर्च भइसकेको वडाले जनाएको छ । ३ सय ९१ हेक्टर क्षेत्रफलमा फैलिएको हातेमालो सामुदायिक वन क्षेत्रमा रहेको उक्त सिमसार १० वर्षे गुरु योजनाको साथ २०७३ सालबाट निर्माण कार्य थालनी गरिएको छ । हाल सिमसार क्षेत्रमा भ्यूटावर निर्माण, तालको बीचको टापुमा जान फलामे पुल निर्माण गरिएको छ भने आगामी दिनमा सो क्षेत्रमा हिमाल, पहाड, तराईको संरचना निर्माण गर्ने र समुन्द्रसहितको मनोरम दृश्य अवलोकन गर्न सकिने योजना रहेको उनको भनाइ छ । जसका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि समेत भरपर्दाे गन्तव्य बन्न सक्ने सिग्देलले बताए ।


सो सिमसार क्षेत्रमा १२ जातिको प्राचीन संस्कार संस्कृति झल्कने संग्राहलयसमेत निर्माण गरिने भएको छ । वडाले आफ्नो वडाका सबै सडकहरूमा सडक बत्तीको व्यवस्था गरेर उज्यालो वडाको रूपमा विकास गरेको छ । ४० किमि सडक क्षेत्र रहेको सो वडाका सबै सडक ग्राभेल गरिएको छ भने वडाका विभिन्न टोलमा ७ वटा पक्की पुल निर्माणको चरणमा रहेको छ भने सोमध्ये एउटा पक्की पुल निर्माण सम्पन्न भएको र २ वटा पुल निर्माणको क्रममा रहेका छन् । वडामा ठुला योजनाका ७ वटा पुलमध्ये ४ वटा नमूना फलामे पुल निर्माण सम्पन्न भएका छन् भने एउटा १ सय फुट लामो फलामे पुल निर्माणको क्रममा रहेको छ । अघिल्ला आर्थिक वर्षबाट बहु वर्षे योजनाका साथ वडा नम्बर १२, १३, १४ हुँदै भद्रपुर जेड्ने स्व. छविलाल राजवंशी मार्गको १० किमि सडक कालोपत्रे गर्ने योजनाका साथ काम थालिएको छ । मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गत ७५ लाख बजेट विनियोजन भए पनि ५८ लाखमा ठेक्का लागेको सो सडक निर्माणको लागि व्रmमागत बजेट थपिँदै जाने भएको छ ।


यसैगरी सहरी विकास भवन इलामको सहयोगमा गत आर्थिक वर्षमा मेचीनगर १३ को आइतबारे हटियामा जनसहभागितासहित १८ लाखको लागतमा १४÷१४ को ४ वटा सटर निर्माण सम्पन्न गरिएको छ । जसमा कृषकले उत्पादन गरेका कृषिजन्य सामग्रीको व्यवस्थापन गरिने र सोही सटरबाट बिक्री गरिने वडाले जनाएको छ ।
वडाले व्यावसायिक कृषि उत्पादनमा कृषकहरूलाई अभिप्रेरित गर्न अघिल्लो वर्षबाटै कार्यक्रम अघि सारेको थियो, जसअन्र्तगत अघिल्लो आर्थिक वर्षमा ३९ वटा टोललाई ४० वटा टनेल वितरण गरेको वडा कार्यालयले जनाएको छ । समूहगत रूपमा व्यावसायिक कृषि उत्पादनमा सो वडाका किसान लागेपछि कृषि ज्ञान केन्द्र झापाले समेत ५० जना किसानलाई प्रोत्साहित गरेको थियो ।
हरेक वर्ष बाढीबाट समेत प्रताडित हुँदै आएका सो वडाका जनता अब भने बाढी र कटानको समस्याबाट मुक्त भएका छन् । वडाले फुलवासा खोलाबाट जोखिममा रहेको सो वडाका ९ वटा जोखिम क्षेत्रमा तटबन्धन गरेको र यस आर्थिक वर्षमा केही सम्भावित क्षेत्रमा तटबन्धन गर्ने योजना रहेको वडाले जनाएको छ । वडाले विद्यालय सुधार कार्यक्रमअन्तर्गत दशरथ माविमा चिल्ड्रेन पार्क, विज्ञान प्रयोगशाला निर्माण गरेको छ भने अघिल्लो आर्थिक वर्षबाट २० लाखको लागतमा निर्माण सुरु गरिएको ४ सय जना आँट्ने क्षमताको सामुदायिक भवन यस वर्ष सम्पन्न गर्ने योजना बनाएको छ । भवनको निर्माण पाटो पुरा भइसकेको तर फिनिसिङ मात्र बाँकी रहेको छ । यसैगरी वडाले निर्माणधीन अवस्थामा रहेको आदिवासी जनजातिको सामुदायिक भवन तथा प्रगति सामुदायिक भवनको निर्माण कार्य यसै वर्ष पुरा गर्ने जनाएको छ ।
सो वडा प्रविधिमैत्री समेत बन्दै गएको छ वडाले अघिल्लो आर्थिक वर्षमा ५ लाखको लागतमा डिजिटल डिस्प्लेसमेत जडान गरेको र आफ्ना वडाका नागरिकलाई डिस्प्लेमार्फत सूचना दिने गरेको जनाएको छ । यस आर्थिक वर्षमा समेत ५ लाखको बजेटमा थप डिस्प्ले जडान गर्ने योजना वडाको रहेको छ ।
वडाले नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै निर्माण गरेको स्वास्थ्य चौकीको फिनिसिङको काम बाँकी रहेकोले तत्काल त्यो काम अघि बढाउने जनाएको छ । वडामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र उत्तरगंगा मूलपानीको संरक्षण गरी धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना अघि सारेको छ । यो सँगै वडामा साना निर्माणका थुप्रै काम सम्पन्न भएको वडाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु