सर्पदंश उपचार सम्बन्धी  प्रशिक्षण

2020-10-19 मा प्रकाशित

मेचीनगर, ३ कात्तिक । सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण सोमबार बाहुनडाँगीमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका २ नं। वडा कार्यालयको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो ।

कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा सर्पको डसाईबाट बच्ने उपाय र सर्पले डस्दा गरिने प्राथमिक उपचारका बारेमा नेपाल रेडक्रस सोसाइटी कनकाई सहारा सर्पदंश उपचार केन्द्र कोटीहोमका इन्चार्ज अभिशेक पोख्रेलले सहजीकरण गरेका थिए ।

प्रशिक्षणको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका २ नं। वडाका वडा अध्यक्ष तिलक न्यौपाने र नेपाल रेडक्रस सोसाइटी, झापा शाखाका उपमन्त्री विश्व थापाले संयुक्त रुपमा गरेका थिए ।

आयोजक संस्थाका सह कोषाध्यक्ष कमल तामाङ्गले स्वागत गरेको कार्यक्रममा रेडक्रस बाहुनडाँगी उपशाखाका पूर्व सभापति नारद काफ्ले, मेचीनगर नगरपालिका १ नं। वडाका वडाध्यक्ष पासाङ्ग तामाङ्ग लगायतले मन्तब्य राखेका थिए । आयोजक संस्थाका सभापति घनश्याम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव बिपन प्रधानले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु