लकडाउनपछि काँकरभिट्टा नाका भएर ३२ लाख रुपैयाँबढीको फेस मास्क आयात ,निर्यात शुन्य

2020-12-01 मा प्रकाशित

लक्ष्मी उप्रेती
काँकरभिट्टा, १६ मंसिर ÷ नोवल कोरोना भाइरस कोभिड १९ को महामारीपछि मेची भन्सार कार्यालयले फेस मास्कको व्यपार देखिएकाले तथ्याङ्क राख्न शुरु गरेको छ । भन्सार अधिकारीका अनुसार कोभिड १९ पछि यसको तथ्याङ्क चाहिन्छ भनेरै यो वर्षदेखि छुट्टै एचएस कोड समेत राखिएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको फेस मास्कको तथ्याङ्क अनुसार नेपालमा लकडाउन भएपछि मंसिर १५ गतेसम्म ३२ लाख रुपैयाँभन्दा बढीको फेस मास्क काँकरभिट्टा नाका भएर आयात भएको छ । यो नाका भएर फेस मास्कको निर्यात भने शुन्य छ । नेपाल सरकारले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन र रोकथामका लागि भन्दैं २०७६ चैत ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको थियो ।
त्यसपछिको साढे नौमहिनाको अवधिमा यो नाका भएर ३२ लाख ९८ हजार १ सय ७७ रुपैयाँ मुल्य बराबरको ९ लाख ३४ हजार ३ सय २२ थान फेस मास्क भारत र चीनबाट आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार अधिकृत एवम् सूचना अधिकारी भरतराज अधिकारीले बताउनुभयो ।

जापान, इटाली,बंगलादेश अफगानिस्तान, थाइल्याण्ड, हङकङ, जर्मनि, फ्रान्स, इण्डोनेसिया, मलेसियालगायतका देशहरुबाट नेपालमा फेस मास्क आयात हुने गरेको भएपनि काँकरभिट्टानाकाबाट भने भारत र चीन यी दुईदेशहरुबाट मात्र बाट आयात भएकोदेखिन्छ ।
उहाँका अनुसार फेस मास्क आयात वापत १३ प्रतिशत मुल्य अभिवृद्घि कर (भ्याट) र ५ प्रतिशत भन्सार महशुल बुझाउनुपर्ने कानुनी प्रावधान छ । ३२ लाख ९८ हजार १ सय ७७ रुपैयाँ मुल्य बराबरको ९ लाख ३४ हजार ३ सय २२ थान फेस मास्क भारत र चीनबाट आयात हुदाँ सो वापत ८ लाख २३ हजार १ सय १८ रुपैयाँ कार्यालयले राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । यसैगरी, २ हजार ८ सय ७० रुपैयाँ मुल्य बराबरको ११ दशमलव ८० केजीएम सेनिटाइजर आयात हुदाँ ७ सय १ रुपैयाँ राजस्व संकलन भएको भन्सारले जनाएको छ । सेनिटाइजर आयातमा समेत १३ प्रतिशत मुल्य अभिवृद्घि कर (भ्याट) र ५ प्रतिशत भन्सार महशुल बुझाउनुपर्ने कानुनी प्रावधान रहेको भन्सार अधिकृत भरतराज अधिकारकिो भनाई छ ।
भन्सार बिभागले चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्मको पहिलो चार महिनामा देशका विभिन्न नाकाबाट ३ करोड २६ हजार रुपैयाँ मुल्य बराबरको फेस मास्क निर्यात भएको बताए पनि पूर्वीनाकाबाट भने निर्यात शुन्य रहेको भन्सार कार्यालले जनाएको छ ।
भन्सार विभागका अनुसार साउनमहिनामा २ करोड ९५ लाख १७ हजार रुपैयाँ मुल्य बराबरको ५ लाख ७९ हजार ३ सय ६० थान र ५ लाख ९ हजार रुपैयाँ बराबरको १ सय ६० केजी फेस मास्क निर्यात भएको छ । भदौमा १ करोड ८५ लाख ४ हजार रुपैयाँ मुल्य बराबरको २ लाख ६ठ हजार ३ सय थान, असोज महिनामा ४ लाख १५ हजार रुपैयाँ मुल्य बराबरको ११ हजार २ सय थान र कात्तिक महिनामा १ करोड ५ लाख ९७ हजार रुपैयाँको ३ लाख ८ सय थान फेस मास्क निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।
भुटान, फ्रान्स,जर्मनी, जापान, बेलायत, यूएई, र अमेरिका नेपालमा उत्पादित फेस मास्क निर्यात हुने देश हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु