भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा

2021-01-20 मा प्रकाशित

काठमाडौं७ माघ । भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् । यो खोप भोलि बिहीबार नै काठमाडौं आइपुग्नेछ ।भारतको यो घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुकै लागि ‘सरप्राइज’ थियो ।खोप खरिदको पूर्वतयारीमा जुटेको मन्त्रालयका अधिकारीहरुले अनुदानमा यति छिटो र यति धेरै मात्रामा खोप आउला भन्ने अनुमान गरेका थिएनन् । ‘भारतले नेपाललाई खोप दिँदैछ भन्ने संकेत मिलिसकेको थियो, तर अनुदानको खोप यति छिट्टै होला भन्ने लागेको थिएन’ एक अधिकारी भन्छन्, ‘जुनसुकै कारणले होस्, यति छिटो खोप पाउनु राम्रो सन्देश हो ।’हुन पनि २९ पुसमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी स्वयंले कोरोनाको खोप ल्याउनु बजारबाट स्याउ खरिद गरे जस्तो नभएको अभिव्यक्ति दिएका थिए । ‘खोपको विषय अहिलेसम्म अन्योल छ, फागुन महिनामा चमत्कार हुनसक्छ’ उनको भनाइ थियो ।उनको आशय फागुन महिनाभित्र नेपालमा कोभिड–१९ विरुद्धको खोप आउन सक्छ भन्ने थियो । तर माघको पहिलो साता नै भारतले अनुदानमा १० लाख डोज खोप दिएपछि स्वास्थ्यमन्त्री त्रिपाठीसमेत चकित परेका छन् ।अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु