पुल मर्मतको कारण देखाउँदै तातोपानी नाका पुनः बन्द

2021-01-21 मा प्रकाशित

काठमाडौं,८ माघ । लामो समयदेखि कहिले खुल्ने र कहिले बन्द हुने अनिश्चितताबाट गु्रजिरहेको तातोपानी नाका फेरि बन्द भएको छ । कोारेना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै चीनले बन्द गरेको नाका सुरक्षा मापदणड अपनाएर सञ्चालन गर्ने भन्दै खुलेको केही दिनमै पुल मर्मतका लागि भन्दै आजदेखि पुनः बन्द गरिएको छ । विस २०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका लकडाउन र बाढीपहिरोका कारण केही समयमा नै बन्द भएको थियो ।

कहिले खुल्ने र कहिले बन्द हुने उपक्रमले भने चीनबाट सामान आयात गर्ने व्यवसायी, मजदुर र स्थानीय भने समस्यामा परेका छन् । कोरोनाका कारण नाकामा अलपत्र परेको नेपाली ब्यवसायीका सामान चिनियाँ पक्षले नेपाल पठाउन थालेपनि केही समयमै पुनः आजैदेखि तातोपानी नाका चिनियाँ पक्षले १५ देखि २० दिनका लागि बन्द गरेको हो । आजदेखि नाका पुनः बन्द भएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार नाकामा रहेका पुलमा नियमित मर्मतका लागि भन्दै चिनियाँ पक्षले नाका बन्द गरेको हो ।हाल पुलको जगमा समस्या देखिएको भन्दै उक्त पुलमार्फत एकतर्फी सवारीसाधनहरु आवतजावत गरिरहेका थिए । भूकम्प र भोटेकोशी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एण्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो । तर, भोटेकोशीले पुलको जगमा केही क्षति पुर्याएपछि व्यवसायीलाई करिव २० देखि २५ दिन अघि नै सूचना दिइएको भन्सार प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार उक्त नाकाबाट सामान आयात गर्ने नेपाली व्यवसायीहरुलाई पहिले नै सूचना दिइसकिएकाले व्यवसायीलाई खासै समस्या आउने छैन ।‘हामीले व्यवसायीलाई पुलमा समस्या छ बाटो बन्द हुनसक्छ भनेर करिव २० दिनअघि नै सूचना दिईसकेका छों,’ उनले भने, ‘नेपाली व्यवसायीलाई पहिले नै सूचना दिईसकेकाले नाकासम्म सामान बोकेका कन्टेनर आउने क्रम आजसम्मका लागि मात्रै छ ।’उनले बुधबारमात्रै उक्त नाकाबाट १५ देखि २० कन्टेनर नेपाल छिरेको बताए । तर बिहीबारदेखि २० दिनसम्मका लागि नाका पूर्णरुपमा नै बन्द हुने तथा अबको २० दिनपछि पुनः तिब्बती नागरिकको चाड ल्होसार सुरु हुने भएकाले थप समय नाका बन्द हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु