मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिदै ‘मागुरमाडी सिमसार’

2020-05-22 मा प्रकाशित

झुलन रेग्मी

मेचीनगर । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको मेचीनगरमा अर्को घुम्ने र रमाउने ठाउँ थपिने भएको छ ।
मेचीनगर–९ मा रहेको मागुरमाडी सामुदायिक वन परिसरमा ‘मागुरमाडी सिमसार’ बन्दैछ । आउँदो मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी द्रूतगतिमा काम भइरहेको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकास समितिले जनाएको
छ ।

लक डाउनकै बेला सुरु गरिदा पनि अहिलेसम्म ३० प्रतिशत काम सकिएको मागुरमाडी सिमसार तथा पर्यापर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मुकेश लिम्बुले बताए । उनले बाँकी ७० प्रतिशत काम असार १५ सम्म सक्ने लक्ष्य राखिएको बताए ।
अहिलेसम्म वाल लगाउने, पोखरी वरिपरि सम्याउने, बाटो वरिपरि चपरी लाउने र वाटर फाउन्टेनको काम लगभग सकिएको उनले बताए । ‘विषम परिस्थितिका बाबजुद पनि हामीले कामलाई द्रूतगतिमा अघि बढाएका छौं,’ उनले भने, ‘यो गौरवको योजना सम्पन्न गरेर सञ्चालनमा ल्याउन हामी आतुर छौं ।’
प्रदेश नं १ सरकारको ५० लाख र मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह वीट नं १ को ६ लाख ७९ हजार १३९ रुपैयाँको लागतमा मागुरमाडी सिमसार बन्न लागेको हो । यसमा वनको १० प्रतिशत लागत सहभागिता रहेको समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूले बताए ।

पाँच हेक्टर जमिनमा फैलिएको उक्त सिमसारमा दुईवटा पोखरी, वाटर फाउन्टेन, बाटोसहितको आकर्षक गार्डेन, फिसिङ डेस्क तथा पिकनिक स्पट निर्माण गरिनेछ ।
अन्य सामुदायिक वन समूहले निर्माण गरेका सिमसार क्षेत्रभन्दा यो अलिक फरक रहने पर्यापर्यटन क्षेत्र विकास समितिले दाबी गरेको छ । सिमसार क्षेत्रको निर्माण गर्दैगर्दा क्रंक्रिट सामाग्रीको कम प्रयोग गरिएको र दुबो, चपरी तथा काठका सामाग्री बढी प्रयोग गरिएको समितिका अध्यक्ष मुकेश लिम्बुले बताए ।
उनले पर्यटकलाई आकर्षित गर्नका लागि ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु निर्माण गरेर राखिने बताए । भक्तपुरको पुरातात्विक वस्तुहरुको झल्को दिनेगरीका त्यही अनुसारका काठका सामाग्री अधिकतम् प्रयोग गरिने बताए ।

मुख्य राजमार्गबाट करिब ४ किलोमिटर उत्तरमा पर्ने उक्त मागुरमाडी सिमसार बाँसवारी पर्यटकीय क्षेत्रसँगै जोडिएको छ । मागुरमाडी सिमसार क्षेत्र सञ्चालनमा आएपछि पर्यटकका लागि लोपोन्मुख किसान जातिको कला, संस्कृति अध्ययनको विषय बन्न सक्ने वन समूहकी सचिव कमला गौतमले बताइन् । किसान जातिको बसोबास सबैभन्दा बढी मागुरमाडीमै छ ।

सिमसार निर्माणमा उपभोक्तालाई काम
बन्दै गरेको मागुरमाडी सिमसार क्षेत्रमा उपभोक्तालाई नै काम दिइएको छ । अहिले दैनिक ३० जना उपभोक्ता निर्माणको काममा खटिएका छन् । लक डाउनका बेला उपभोक्तालाई नै आम्दानी होस् भनेर बाहिरका मजदुरलाई काममा नलगाइएको पर्यापर्यटन समितिका अध्यक्ष मुकेश लिम्बु बताउँछन् । पालोपालो गरेर धेरैभन्दा धेरै उपभोक्ता पर्यटकीय सिमसार क्षेत्रको निर्माणको काममा सक्रिय रहँदै आएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु