काँग्रेसले बागी उम्मेद्वार बनेकाहरुको सदस्यता नवीकरण नगर्ने

2020-04-18 मा प्रकाशित

बिर्तामोड / नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेद्वारका विरुद्ध स्थानीय, प्रदेश र संसदीय चुनावमा बागी उम्मेद्वार बनेका र पार्टी छोडेर अन्यत्र गएकाहरुको नवीकरण नगर्ने निर्णय गरेको छ ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवसको अवसरमा आयोजित बैठकमा सो निर्णय गरेको हो । नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यक्रममा कोइरालाको स्मृतिमा १ मिनेट मौनधारण गरिएको थियो भने पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा लिम्बूको १० औं दिनको पुण्य तिथिमा उहाँप्रति पनि श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्व र केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको बैठकले सदस्यता सम्बन्धी सम्पूर्ण काम २०७७ बैशाख १५ गतेभित्र सक्ने निर्णय समेत गरेको छ ।

चौधौं महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न सहयोग पु¥याउने उद्देश्यले कांग्रेस झापा जिल्ला समितिले महाधिवेशनको कार्यतालिकालाई तदारुकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले जानकारी दिए ।

त्यसैगरी नेपाल तामाङ संघ जिल्ला कार्य समितिलाई चैत १५ गतेभित्र भातृ संस्था विभागका प्रमुख देउकुमार थेवेको संयोजकत्वमा पूर्णता दिने पनि बैठकले निर्णय गरेको छ ।

यसै बीच विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आम जनसमुदायमा सचेतना अभियान चलाउन पार्टीका सबै युनिटहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु