कोरोना रोकथाममा प्रदेश १ मा २७ करोड ३३ लाख खर्च

2020-07-03 मा प्रकाशित

झापा,१९ असार । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश १ सरकारले २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको नियमित बजेटबाट ४ करोड ८१ लाख १८ हजार र नेपाल सरकारबाट प्राप्त भएको २ करोड ७० लाख रुपैयाँ खर्च भएको बताए ।

निकासा भएको रकममध्ये प्रदेश १ को सामाजिक विकास मन्त्रालयले करिब १० करोड रुपैयाँ खर्च गरेको छ । आइसोलेसन अस्पताल स्थापना सञ्चालन तथा व्यवस्थापन, स्वास्थ्य उपकरण खरिदमा सो रकम खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै कोरोना परीक्षण, उपचार व्यवस्था, संक्रमित तथा स्वास्थ्यकर्मीको खाना, खाजालगायतका शीर्षकमा जम्मा ९ करोड ९० लाख ८९ हजार खर्च भएको छ ।

मन्त्रालयले खर्च गरेको रकममध्ये कोरोना जनसुरक्षा कोषबाट २ करोड ४८ लाख ७१ हजार, मन्त्रालयको नियमित बजेटबाट ४ करोड ८१ लाख १८ हजार ७२० र नेपाल सरकारबाट प्राप्त रकम २ करोड ७० लाख रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भट्टराईले बताए ।

क्वारेन्टिन, सुरक्षा र राहत वितरणमा १५ करोड

प्रदेश १ मा क्वारेन्टिन, होल्डिङ एरिया, सुरक्षा व्यवस्था तथा स्थानीय तहमा राहत वितरणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १५ करोड ३४ लाख खर्च गरेको छ ।

सो रकम प्रदेशले निर्माण गरेका होल्डिङ एरिया, क्वारेन्टाइन र सुरक्षामा खटिने सुरक्षा युनिटका लागि खर्च भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्र निर्माणका लागि २ करोड खर्च गरेको मन्त्रालयले जनाएको छ ।

जनसुरक्षा कोषमा साढे ३३ करोड

प्रदेश सरकारले कोरोना नियन्त्रणका स्थापना गरेको जनसुरक्षा कोषमा ३३ करोड ५४ लाख एक हजार ९४१ रुपैयाँ जम्मा भएको छ ।

कोषमा सरकारले २५ करोड राखेको थियो । सो कोषमा नेपाल सरकारबाट ४ करोड, बैंक तथा वित्तीय संस्थाबाट १ करोड ८६ लाख २ हजार २३६, प्रदेशका पदाधिकारी तथा कर्मचारी १ करोड ६४ लाख ६० हजार ९७५, उद्योगी तथा व्यवसायी ७४ लाख ८० हजार र अन्य व्यक्तिबाट २८ लाख ५८ हजार ७३० रुपौयाँ जम्मा भएको छ ।

प्रदेश १ मा ६ सय ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ सय ६ जना उपचार पछि घर फर्किएका छन् । शुक्रबारसम्म २६ हजार ५५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने १८ हजार १ सय ५१ जनाको आरडीटी विधिबाट कोरोना एन्टीबडी परीक्षण भएको छ ।

प्रदेश १ को ४५२ स्थानमा क्वारेन्टिनस्थल, २४ स्थानमा होल्डिङ एरिया र ५०७ बेडको ५२ स्थानमा आइसोलेसन तयार गरिएको छ । जसमा जम्म्मा ४४ वटा आईसीयू बेड छन् ।

अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु