आज रातिदेखि बिर्तामोडमा अनिश्चितकालका लागि लकडाउन

2020-08-02 मा प्रकाशित

मेचीनगर । लकडाउन खुले सँगै कोरोना संक्रमण बढ्न थालेपछि बिर्तामोड नगरपालिकाले आज राति १२ बजेदेखि लकडाउन गर्ने भएको छ ।नगर कार्यपालिकाले स्थानीय राजनीतिक दलका नेतृत्वसहित संघीय सांसद एवम् प्रदेश सांसदको उपस्थितिमा आज गरेको छलफल पछि कोभिडको संक्रमण समुदायमा फैलन नदिन लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

भोलिदेखि औषधी पसल र दूध डेरी बाहेक खाद्यान्नका पसलहरु बिहान ८ देखि ११ बजे सम्ममात्र खोल्न पाउने गरी निर्णय भएको छ । खाद्यान्न बाहेकका अन्य पसलहरु पूर्णतया बन्द गर्नुपर्ने निर्णय भएको नगरप्रमुख शिवाकोटीले बताए ।

राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, प्रहरी, सामाजिक क्षेत्रका अगुवाहरु सम्मिलित बैठकमा नेकपा नेता नरेश खरेलले कोरोनासँग अब अभ्यस्त हुनुपर्ने बताए ।
उनले स्थानीय सरकारले लकडाउनको अवधिमा सम्भावितहरुको पहिचान गरी पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने सुझाव दिएका छन् ।छलफलमा प्रतिनिधि सभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले क्वारेन्टिनको सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने, पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने सुझाव दिइन् ।

बिर्तामोड पूर्वको मुख्य बजार रहेकोले छोटो अवधि बन्दाबन्दी गरेपनि आम उपभोक्तालाई खाद्यान्नको सहज आपूर्ति हुने व्यवस्था रहनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्कीले बिर्तामोड नगर लकडाउन गर्नुपर्दा अन्य स्थानीय तहबाट अर्कै जिल्ला वा स्थनीय तहमा जाने यात्रु तथा यातायातको साधनलाई रोक्न सम्भव नहुने सुझाव दिए ।

सबैको सल्लाह र सुझाव पछि नगरप्रमुख शिवाकोटीले १० दिन अघिमात्र सेफ जोन भनी घोषणा गरिएको बिर्तामोडमा हिजोदेखि असुरक्षित महसुस गरेकाले संक्रमित ट्रेसआउट गर्न लकडाउन नै विकल्प भएको निश्कर्ष सुनाएका थिए ।

आज राति १२ बजेदेखि अर्को सूचना नभएसम्म लकडाउन गर्ने, मोटर साइकलसहित निजी तथा सार्वजनिक सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

निजी, अर्ध सरकारी तथा सरकारी कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुले परिचयपत्र बोकी आवतजावत गर्न पाइने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु