निन्दा खोलामा डुबेर शिक्षक भण्डारीको मृत्यु

2024-05-28 मा प्रकाशित

मेचीनगर। मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएकोे छ ।
निन्दा खोलामा ढुंगा गिटी मापदण्ड विपरीत उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर व्यहोस भएका भण्डारीलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भण्डारी नवज्योति माध्यमिक विद्यालयका शिक्षक हुन् । कान्छो छोरा खोलामा गएको सुनेर छोरा लिन गएका उनी घर फर्कन पाएनन् । कान्छो छोरा लिन जाँदा जेठो छोरा साथमै गएपछि छोराले खोलामा नुहाउने इच्छा गरेका थिए । उनले पनि छोरालाई नुहाउन अनुमति दिए । तर छोरा पौडिखेल्ने क्रममा डुब्न लागेको देखेपछि छोरा बचाउन हामफालेर खोलामा पसेका उनले छोरा बचाए तर आफू भने गहिरो खाडलबाट निस्कनै सकेनन् । छोराहरुले हार गुहार गरेको सुनेर मलामी टहरामा बसेका स्थानीयले उनलाई उद्धार गरेका थिए ।

भण्डारीको निधन भएको स्थानमा करीब १३ फिट खाल्डो खनेर नदिजन्य सामग्री उत्खनन गरिएको स्थानीयहरुले बताएका छन । नगरपालिकाले ३ फिट भन्दा बढी खाल्डो नपार्न सम्भौता गरेको भए पनि अबैध रुपमा नदिजन्य सामग्री उत्खनन गरिएका कारण खाल्डो गहिरो भएको र बर्षातको पानी जमेका कारण भण्डारीको मृत्यु भएको स्थानीयहरुले आरोप लगाएका छन ।

यसै बीच नेपाली काँग्रेस क्षेत्रीय समितिले निन्दा खोलामा मापदण्ड विपरीत ढुंगा गिटि उत्खनन् गरेको ठाउँमा गहिरो खाल्डोमा परि धनराज भण्डारीको ज्यान गएको भन्दै मापदण्ड विपरीत उत्खनन् गर्ने ठेकेदार तथा हालै मेचीनगर पालिका भित्र सेवाग्राही माथि भएको कुटपिटटको घटनामा दोसीलाई कार्वाहीको माग गरेका छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु