मेचीनगर । मेचीनगर –२ बौद्वमोड स्थित मेची ताजा तरकारी मिश्रित कृषक समूहको आयोजनामा मंगलबार वर्तमान कृषिका समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
सो अवसरमा नगरपालिकाले प्रस्ताव गरेको समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षका बारेमा समेत गम्भीर छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुद्व अर्गानिक तरकारी खेती अभियानलाई सार्थकता दिन किसानहरुले योजना बनाएर ल्याए पूर्णरुपमा सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।
किसानकै सहयोगका लागि मेचीनगरले समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षको अवधारणा ल्याइएको हो,’ नगर प्रमुख बुढाथोकीले भने,‘ रासायनिक मल र विषादीले मानवीय जीवनमा गम्भीर असर गरिरहेको छ त्यसैले ‘अग्र्यानिक उत्पादनमा जोडदिनु होस् ।’ उनले अग्र्यानिक अभियानलाई सफल पार्न सबै किसानहरुबीच सहकार्य जरुरी रहेको बताए ।

मेची ताजा तरकारी मिश्रित कृषक समूहका अध्यक्ष केदारनाथ चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ नम्बर वडाका वडाध्यक्ष दिपक बराल, अगुवा किसानहरु दिलमान राई, पूर्णबहादुर खड्का, कृषि अभियन्ता डिल्ली खतिवडा, निलकण्ठ तिवारी लगायतले नगरपालिकाले ल्याएको योजना राम्रो रहेको बताएका थिए । उनीहरुले यसलाई कहिले, कसरी लागू गर्ने त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहने बताए ।
नगरपालिकाले वडा नम्बर २, ३ र ७ लाई कृष जोनका रुपमा तराकारी पकेट क्षेत्र घोषणा गरेको छ । त्यहाँ किसानहरुलाई विभिन्न तालिमहरु दिँदै आएको छ । किसानहरुले उत्पादन गरेका तरकारीलाई उचित मूल्य तोक्ने, संकलन गर्ने र बिक्रीका लागि नगरपालिकाले सहयोग गर्ने लक्ष्य लिएको छ ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले प्रोजेक्टर मार्फत किसानलाई तरकारीमा आत्मनिर्भर बनाउने विषयमा जानकारी गराएका थिए ।
सोही अवसरमा स्थानीय सामाजसेवी ज्ञानबहादुर तामाङलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण समूहका सचिव पुस्कर घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्