मेचीनगरको सार्वजनिक सुनुवाइमा विकास निर्माणदेखि भुक्तानी प्रणालीसम्म प्रश्न

2026-11-05 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर–२ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा सहभागीहरूले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कालोपत्रे सडक र काँकरभिट्टास्थित सार्वजनिक शौचालयलगायतका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा स्थानीय विकास ओझाले विकास निर्माणका योजनाको गुणस्तर परीक्षण कसरी गरिन्छ, गत आर्थिक वर्षमा भएका विकास निर्माणको अवस्था र काँकरभिट्टाको सार्वजनिक शौचालयको अवस्थाबारे जिज्ञासा राखेका थिए । उनले विद्यालयको खेलमैदान र नगरपालिकाको भुक्तानी प्रणालीका विषयमा समेत प्रश्न उठाएका थिए ।
मेचीनगर–२ का हरिबहादुर राईले हाटबजार क्षेत्रको फोहोर व्यवस्थापन तथा पिच सडकको अवस्थाबारे प्रश्न गरेका थिए । केही वर्षअघि कालोपत्रे गरिएको सडक भत्किन थालेको उल्लेख गर्दै उनले ठूला गाडी तथा टिपर सञ्चालनका कारण सडकमा जोखिम बढेको बताए । एउटै सडक कति पटक कालोपत्रे गर्ने र सडकको भारवहन क्षमता कति हो भन्ने विषयमा उनले जिज्ञासा राखेका थिए ।
मेचीनगर–५, आदर्श टोलका गुरागाईंले वैदेशिक रोजगारीबाट फर्किएका नगरवासीको अवस्थाबारे प्रश्न गरेका थिए । नगरस्तरीय आप्रवासी समिट सञ्जाल गठन गरेर काम गरिरहेको भए पनि हालसम्म उक्त कार्यक्रमका लागि आर्थिक सहयोग प्राप्त नभएको उनले गुनासो गरे ।
सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिँदै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विधि र प्रक्रियाभन्दा बाहिर गएर कसैले पनि नगरपालिकाबाट भुक्तानी लिन नसक्ने बताए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरवासीका गुनासालाई ग्रहण गरी आगामी दिनमा सोहीअनुसार कार्यक्रम अघि बढाइने बताइन् । कार्यक्रममा उठेका अधिकांश प्रश्न तथा गुनासाको जवाफ प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले दिएका थिए । नगर शिक्षा प्रमुख होमनाथ भण्डारी, राजस्व प्रमुख प्रेम पराजुली र मेचीनगर–२ का वडाध्यक्ष दीपक बराललगायतले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटा, आर्थिक प्रशासन शाखाका दीपक भट्टराई, कार्यपालिका सदस्य माया प्याकुरेललगायतको आतिथ्यता रहेको थियो ।
सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले सहजीकरण गरेको कार्यक्रममा गोविन्द न्यौपानेले सिटिजन रिपोर्ट कार्ड प्रस्तुत गरेका थिए । यस अघि मेचीनगरपालिकामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीको सहभागिता न्यून देखिएपछि मेचीनगरपालिकाले वडास्तरमा सार्वजनिक कार्यक्रम गर्ने योजना अनुसार आज वडा नम्बर १ देखि ५ नम्बर वडाका वडाबासीलाई लक्क्षित गरी कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु