बौद्धमोडमा आयोजित दुई दिवसीय ग्रामीण कृषि महोत्सव सम्पन्न

2026-09-20 मा प्रकाशित

मेचीनगर । मेचीनगर–२ स्थित बौद्धमोडमा आयोजित दुई दिवसीय ग्रामीण कृषि महोत्सव आइतबार सम्पन्न भएको छ । कृषि क्षेत्रको उत्पादन प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले आयोजित महोत्सवमा मेचीनगरका विभिन्न क्षेत्र तथा छिमेकी पालिकाबाट कृषि उपजसहित कृषक तथा व्यवसायी सहभागी भएका थिए । महोत्सव अवलोकन तथा कृषि उपज खरिद गर्न विभिन्न क्षेत्रबाट आएका सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
मेची ताजा तरकारी मिश्रित कृषक समूहको आयोजनामा सञ्चालित महोत्सवमा विभिन्न प्रकारका तरकारी, च्याउ, अचार, हस्तशिल्प, विभिन्न प्रकारका झोला, ढाकाका कपडा, खाद्य सामग्रीअन्तर्गत चामल, तेल, चियारङ, राजमा तथा विभिन्न परिकारलगायतका सामग्रीका दर्जनभन्दा बढी स्टल राखिएका थिए ।


दुई दिनसम्म चलेको महोत्सवमा स्थानीय उत्पादनले राम्रो बजार पाएको बौद्धमोड विकास संस्थाका अध्यक्ष छविलाल काफ्लेले बताए ।
स्थानीय युवा विकास ओझाले महोत्सवले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए । ‘यस क्षेत्रको विकास र प्रवद्र्धनमा स्थानीयको चासो बढ्दै गएको छ,’ उनले भने, ‘यस किसिमको महोत्सवले पनि समाजको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने विश्वास छ ।’ गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसँग जोड्न महोत्सवले सहयोग पुग्ने उनले बताए ।
युवा व्यवसायी डेनु मगरले ग्रामीण कृषि महोत्सवले कृषकलाई ठूलो टेवा पुग्ने बताए । कृषकले उत्पादन गरेका कृषि उपजले उचित मूल्य र बजार नपाइरहेको अवस्थामा यस्ता महोत्सवले कृषकलाई हौसला मिल्नुका साथै उत्पादनले बजार पाउने वातावरण बन्ने उनले बताए ।


महोत्सव संयोजक पूर्णबहादुर खड्काले बाहुनडाँगी तथा बौद्धमोड क्षेत्र कृषिका लागि सम्भावनायुक्त भए पनि कृषि उपजले अपेक्षित बजार पाउन नसकेको बताए । महोत्सवले कृषिको व्यवसायीकरण तथा बजारीकरणमा सहयोग पुग्ने बताउँदै उनले यसले रोजगारी सिर्जना र कृषि क्षेत्रसम्बन्धी चेतना अभिवृद्धिमा समेत योगदान गर्ने विश्वास व्यक्त गरे ।
समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोडस्थित कृषि थोक बजारका अध्यक्ष निरजकुमार ओलीले कृषिको व्यवसायीकरणका लागि भरपर्दो बजार आवश्यक रहेको बताए कृषि उपजको बजारीकरणका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले कृषि उत्पादनमा विषादी परीक्षणका लागि समेत सहयोग गर्ने उद्घोष गरे ।


समापन कार्यक्रममा स्थानीय कलाकार तथा विभिन्न विद्यालयका विद्यार्थीले सामूहिक तथा एकल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन डेनु मगरले गरेका थिए।
महोत्सवको उद्घाटन शनिबार कोशी प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतोले गरेका थिए । उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । महोत्सवमा दैनिक लाखौँ रुपैयाँ बराबरको कारोबार भएको व्यवसायीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु