निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा, पटका रहित छठ मनाउन आयोजकको आग्रह

2023-11-18 मा प्रकाशित

मेचीनगर, २ मंसिर । धुलाबारी छठ पूजा समितिले निन्दा खोलाको छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

समितिले आज धुलाबारी स्थित रामघाटको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर छठ पूजाको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

धुलाबारी छठ पूजा समितिका अध्यक्ष जयकुमार श्रापले निन्दा खोलाको यसवर्षको छठ पूजाका लागि ३०० भन्दा बढि घाट बनाएर त्यसमा चाहिने सम्पूर्ण सामानको तयारी पुरा गरिएको जानकारी दिए । ।

छठ पूजा समितिका पूर्व अध्यक्ष शिवशंकर साहले भक्त्तजनहरुलाई पटका नपड्काइ छठ पर्व शान्तिपूर्वक मनाउन आग्रह गरेका छन् । मधेशी समुदाय मात्र मनाउदै आएको यो पर्वमा यसपटक पहाडी समुदायको पनि पूजामा सहभागिता रहने साहले बताए । उनका अनुसार करिव २० वटा घाटमा पहाडी समुदायले पूजा गर्नेछन् ।

खोलाको दुवै पट्टि बाँस र काठका पुलहरु समेत लगाइएको छ । टेण्ट र घाटदेखि सडकसम्म विद्युतिय सामान जडान गरिएको छ ।

‘छठ पूजा कसरी गर्ने पहाडी समुदायलाई थाहा छैन’, साहले भने–‘विधि विधानका विषयमा हाम्रो समुदायले सिकाईदिएपछि पहाडी समुदायले पनि सँगै पुजा गर्न थालेका छन् । यसपटक पनि पहाडी समुदायको सहभागिता रहनेछ ।’

यसपटक सुरक्षाका व्यवस्था समेत कडा पारिएको आयोजकले जनाएको छ । समितिका पूर्व अध्यक्ष एवम् रामघाट समितिका समेत अध्यक्ष रहेका गोपाल गुप्ताले छठ पूजामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलाबारी र नगर प्रहरीलाई समेत खटाउने गरि मेयर र सुरक्षा प्रमुखहरुलाई जानकारी गराइएको बताए ।

बाणिज्य संघ र हेल्थपोष्ट कार्यालयलाई समेत एम्बुलेन्स तयारी अवस्थामा राख्न जानकारी गराइएको उनको भनाई छ ।

यहि मंसिर १ गतेदेखि सुरु उक्त छठ पूजा ४ गते समापन हुनेछ । १ गते नहाय खाय, २ गते खरना, ३ गते संन्ध्या अर्ग र मंसिर ४ गते पारन पूजा गरेर समापन गरिने समितिका सचिव जितेन्द्रकुमार गुप्ताले बताए ।

छठ पूजा सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने अनुमान गरिएको समितिका सहसचिव अरुणकुमार साहले जानकारी दिए । मेचीनगर नगरपालिका, घाट र समितिबाट उक्त रकम उठाएर छठ पूजाको तयारी गरिएको उनको भनाई छ ।

यस पटक छठ पूजामा २० हजार भक्त्तजनहरुको सहभागिता हुने अनुमान आयोजकको रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु