मेचीनगरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण हुँदै

2026-11-09 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरमा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको पूर्ण कदको सालिक अनावरण गरिने भएको छ। नेपाल संवत् ११४७ को अवसर पारेर भोलि मंगलबार मेचीनगर–१० स्थित चाँदनी चोकमा निर्माण गरिएको सालिक अनावरण गर्न लागिएको राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान मेचीनगर समितिले जनाएको छ।
सालिक अनावरण कार्यक्रमबारे समितिले सोमबार धुलाबारीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। समितिले चाँदनी चोकमा आकर्षक तथा परम्परागत शैलीमा सालिक निर्माण सम्पन्न गरेको जनाएको छ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष दिनेश शाक्यले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै नेपाल संवत् नेवार समुदायको मात्र नभई नेपालको मौलिक संवत् भएको बताए। प्रचलित ऐतिहासिक जनश्रुतिअनुसार शङ्खधर साख्वाले सर्वसाधारण जनताको ऋण तिरिदिएर उनीहरूलाई ऋणमुक्त बनाएका थिए। उनको यही जनकल्याणकारी कार्यको सम्झनामा नेपाल संवत् सुरु भएको मान्यता रहेको उनले बताए।
नेपालका २२ वटा नगरपालिकामा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक निर्माण भइसकेको उल्लेख गर्दै अध्यक्ष शाक्यले मेचीनगरमा भने मौलिक तथा परम्परागत शैलीमा सालिक निर्माण गरिएको जानकारी दिए।
सालिक निर्माणका लागि आफ्नो परिवारका दाजुभाइसँग सल्लाह गरेर निजी जग्गा उपलब्ध गराएको उनले बताए। ‘हाम्रा बुबा भक्तमान शाक्यले नेवारी परम्परा र संस्कृतिको संरक्षणका लागि ठूलो संघर्ष गर्नुभएको थियो। बुबाकै प्रेरणाबाट हामी पनि संस्कार र संस्कृति संरक्षणको अभियानमा जुटेका हौँ,’ उनले भने, ‘बुबाले देखाएको बाटोमा निरन्तर लाग्दै आफ्नै जग्गामा राष्ट्रिय विभूतिको सालिक निर्माण गर्न पाउँदा खुसी लागेको छ।’
सालिक निर्माणका लागि मेचीनगर नगरपालिका, प्रदेश सरकार तथा विभिन्न दाताबाट सहयोग प्राप्त भएको पनि उनले जानकारी दिए।
सालिकको अनावरण मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्ने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष शङ्करबहादुर बस्नेत, कोषाध्यक्ष ऋतु प्रधान श्रेष्ठ, सहसचिव धर्मेन्द्र खड्का, सदस्यहरू शङ्कर श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, हिरा बास्तोला, खेमराज प्रसाईँ, बुद्धिबहादुर श्रेष्ठ, सल्लाहकार कृष्ण कनाल, नरेन्द्र खड्कालगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव मिलनराज प्रसाईँले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु