मेचीपारिको पीडा

2023-05-15 मा प्रकाशित

नेपालको भूगोलको सीमा निर्धारण पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदीले गरेको छ । यद्यपि, यी दुबै नदी पारिको क्षेत्रमा पनि सानो नेपालको भूभाग रहेको छ । महाकाली नदी पारि चाँदनी र दोधारा दुईवटा पालिका नै छ । यस क्षेत्रमा लामो समय बिकासका गतिविधि हुन सकेन । महाकाली नदी पारि लामो समयसम्म विजुली नपुग्दा र सडक सञ्जाल नजोडिँदा यहाँका जनताले विकास केहो अनुभूति गर्न पाएनन् । २०५८ पछि महाकाली नदीमा नेपालकै लामो झोलुंगे पुल बनाइयो  । त्यसपछि सो क्षेत्रमा तीब्ररुपमा विकास सुरु भएको छ ।
नेपालको पूर्वी सीमाना मेचीपारि पनि दुई बस्ती ग्वाल बस्ती र सिसौडाँगी रहेका छन् । मेचीनगर वडा नम्बर–१५ को पूर्व भागमा रहेको यी दुवै बस्तीका जनाता शिक्षा, स्वास्थ्य, खानेपानी र विकासका पूर्वाधारहरुबाट निक्कै पछाडि परेका छन् । हुन त चेतनाका हिसावले झापा शिक्षित ठाउँ हो । यहाँका जनताले देशको भाग्य भविष्य निर्धारण मात्र गरेका छैनन्, हरेक राजनीतिक परिवर्तनको शंखघोष गर्दै हरेक क्रान्ती सफल बनाएका छन् । देशमा आएका आमुल परिवर्तनमा व्यक्तिगत स्वार्थलाई छोडेर जनता नेताको उर्दी मान्छन् र त्यो प्राप्तीको लागि आफ्नो जीवन बलिदान गर्नसम्म तत्पर हुन्छन् । यसका पछि उनीहरु एउटै स्वार्थ छ । त्यो हो सम्मानपूर्वक बाँच्न पाइयोस, शिक्षा, स्वास्थ्य जस्ता अतिआवश्यक कुराको प्रबन्ध होस ।
यस्तो चेतनशील जिल्लाको सुदुर पूर्वी सीमामा रहेका जनता मेची पारिका जनताको अवस्था भने काहाली लाग्दो छ । यहाँका जनताले सरकारबाट कुनै सुविधा उपभोग गर्न पाएका छैनन् । यस ठाउँमा न त सडक सञ्जाल जोडिएको छ, न त स्वास्थ्य र शिक्षाको प्रबन्ध छ । मेची नदीमा पुल नभएकै कारण उनीहरुको भाग्य र भविष्य खोसिएको छ । नेपाली भएर कुनै पनि सुविधा लिन नपाउनु विडम्बना हो । अतः स्थानीय सरकारले यस क्षेत्रका जनताको समस्यालाई बुझेर विकासको प्राथमिकतामा राख्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु