कृषकलाई निरुत्साहित नगरौँ

2020-09-07 मा प्रकाशित

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै सरकारले कृषकलाई व्यावसायिक कृषि उत्पादनमा लाग्न प्रेरित गरिरहेको छ । समय समयमा खुला मञ्चबाटै भएपनि व्यावसायिक कृषि उत्पादन आजको आवश्यक्ता रहेकाले अब कुनै जमिन बाँझो नराखी खेती गर्न सरकारले जनतालाई निर्देशन समेत गरिरहेको छ । तर, कृषि उत्पादन बढाउन आवश्यक पूर्वाधार के के हुन् भन्ने विषयमा भने सरकार बेखबर रहेको छ ।
यतिखेर किसान युरिया मलको खोजीमा भौंतारी रहेका छन् । कोरोनाको महामारीकाबीच किसानले धान खेती गरेका छन् । धानको उत्पादन बढाउन युरिया मल आवश्यक पर्छ तर, मल कतै पाईँदैन । केही सहकारीहरुले थोरै मात्रामा मल वितरण गरे तर, पर्याप्त मल नपाएकै कारण किसानले सहकारी संस्थामा आगजनीको प्रयास समेत गरेका छन् भने कोरोनाको त्रासको परवाह नगरी राहत लिन बसेझैं गरी लाईनमा बस्नुपर्ने बाध्यता किसानले भोग्नुपरेको छ ।
सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाउन अब भाषण होईन, व्यवहारीक रुपमा लगानी बढाउन आवश्यक छ । देशमा मल उत्पादन गर्ने उद्योग छैनन्, त्यसतर्फ सरकारको ध्यान जान जरुरी छ । सरकारले उद्योग सञ्चालन नगरे लगानीमैत्री वातावरण सिर्जना गरेर उद्योगी व्यवसायीलाई उद्योग खोल्न अभिप्रेरीत गर्नुपर्छ । त्यसका लागि सहुलियत दरमा ऋणको व्यवस्था, निश्चित समय अवधिसम्म कर छुटलगायतमा सुविधा दिन आवश्यक छ । जब उद्योगबाट आम्दानी सुरु हुन्छ, त्यसपछि राज्यको समेत आम्दानीको भरपर्दाे श्रोत बन्ने छ । देशलाई आर्थिक रुपमा मजबुत बनाउन जनताले थेग्नै नसक्नेगरी कर संकलन गरेर मात्र हुँदैन, जनताका लागि आम्दानीको भरपर्दाे श्रोतको व्यवस्था समेत गर्न आवश्यक छ । जनता आर्थिक रुपमा सबल भए भने मात्र देश सबल हुन्छ । पछिल्लोसमय जनता कृषि क्षेत्रमा फर्किएका छन् । यस्तो अवस्थामा किसानलाई निरुत्साहित गर्ने काम कहिँ कतैबाट पनि नगरौँ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु