समयमै मल उपलब्ध गराउ

2021-08-16 मा प्रकाशित

कोरोना कहरकाबीच किसानले धान खेती गरेका छन् । धानको राम्रो उत्पादन लिन यो सिजनमा युरिया मलको आवश्यक्ता पर्दछ तर किसान युरिया मल नपाएर मलको खोजिमा भौंतारी रहेका छन् । कृषि सहकारी संस्थाले आफ्ना सदस्यहरुको लागि थोरै मात्रामा मल वितरण गरे तर, पर्याप्त मल नपाएपछि किसान यतिखेर आन्दोलित समेत बनेका छन् । कोरोनाको त्रासको परवाह नगरी मल खरिदको लागि राहत लिन बसेझैं लाईनमा बस्नुपर्ने बाध्यता किसानले भोग्नुपरेको छ ।
सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाउन भाषण गरेको धेरै भयो तर हाल सम्म कुनै कुरामा पनि आत्त्म निर्भ बन्ने अवस्था छैन । धानमा हाल्ल्ने मल समेत नेपालमा उत्पादन छैन् अब भाषण होइन, व्यवहारीक रुपमा लगानी बढाउन आवश्यक छ । सरकारले देशमै मल उत्पादन गर्ने उद्योग स्थापना गर्नु आवश्यकछ । सरकारले उद्योग सञ्चालन नगरे लगानीमैत्री वातावरण सिर्जना गरेर उद्योगी व्यवसायीलाई उद्योग खोल्न अभिप्रेरीत गर्नुपर्छ । त्यसका लागि सहुलियत दरमा ऋणको व्यवस्था, निश्चित समय अवधिसम्म कर छुटलगायतमा सुविधा दिन आवश्यक छ । जब उद्योगबाट आम्दानी सुरु हुन्छ, त्यसपछि राज्यको समेत आम्दानीको भरपर्दाे श्रोत बन्ने छ ।
देशलाई आर्थिक रुपमा मजबुत बनाउन जनताले थेग्नै नसक्नेगरी कर संकलन गरेर मात्र हुँदैन, जनताका लागि आम्दानीको भरपर्दाे श्रोतको व्यवस्था समेत गर्न आवश्यक छ । जनता आर्थिक रुपमा सबल भए भने मात्र देश सबल हुन्छ । यतिखेर किसान कृषि क्षेत्रमा फर्कदै गएको अवस्था छ त्यसैले समयमै पर्याप्त मल उपलब्ध गराएर किसानको उत्साहलाई जोगाई राख्नु पर्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु