
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ५ आयोजनामा अग्र्यानिक खेती प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरो आफ्नो करेसाबारी, मेरो भान्साको लागि अग्र्यानिक तरकारी’ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रममा वडाका ३५ जना सक्रिय किसान सहभागि थिए । सहभागिहरुलाई अग्र्यानिक खेती अभियान्ता प्रशिक्षक डिल्ली खतिवडाले तरकारी खेतीमा रोग किरा नियन्त्रण तथा तथा माटोको गुण सुधारका लागि आवश्यक मल तथा औषधि बनाउन सिकाएका थिए । प्रशिक्षक खतिवडाले ओडी, कवाज, ट्राइकोडर्मा, एनपीके तथा भेम बनाउने तरिका र यसको प्रयोगको बारेका प्रशिक्षण दिएका थिए ।
उनले पछिल्लो समय बालीमा रोग किराको प्रकोप बढ्दै गएको र त्यसको नियन्त्रणको लागि जथाभावी विषादीको प्रयोग बढेका कारण मानवीय स्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेकोले अग्र्यानिक उत्पादनमा लाग्नुको विकल्प नभएको बताए ।
मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले विषादीको अधिक प्रयोगका कारण मानिसलाई गम्भीर प्रकृतिको रोग लाग्न थालेको बताइन् । उनले विषादीको प्रयोगकै कारण मेचीनगरमा धेरै नागरिक क्यान्सरको सिकार हुने गरेकोले स्वास्थ्य जीवन जिउन अग्र्यानिक उत्पादनमा लाग्न सुझाइन् । यसैगरी कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिका वडा नं ५ का अध्यक्ष कार्कीले विषादी र रासायनिक मलको प्रयोगले मानिस र माटो रोगी भएको बताउँदै ‘मेरो आफ्नो करेसाबारी, मेरो भान्साको लागि अग्र्यानिक तरकारी’ भन्ने अभियान सञ्चालन गरेर वडालाई अग्र्यानिक तरकारीमा आत्मनिर्भर बनाउने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरु मनकुमार सुब्बा, पुष्पकुमार गेलाल, देवीमाया विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई औषधि तथा मल बनाउन आवश्यक जोडन तथा ड्रम समेत उपलब्ध गराइएको थियो । कृषि समिति सचिव खगेन्द्र भणडरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कृषि प्राविधिक नम्रता राईले गरेकी थिइन् । मेचीनगर ५ मा विगत १ वर्ष अघिबाट अग्र्यानिक खेती प्रोत्साहनका लागि कृषि समिति समेत गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस्