पिसिआर विधिको दायरा बढाउ

2020-05-08 मा प्रकाशित

सरकारले कोरोना संक्रमितहरुको स्वास्थ्य परीक्षणका लागि द्रुत परीक्षण विधि र्यापिड टेष्ट अर्थात् आरडिटी र पिसिआर विधिबाट स्वास्थ्य परीक्षण गरिरहेको छ । धेरैको संख्यामा र छिटो रिजल्ट निकाल्न सरकारले आरडिटी विधिलाई अपनाएको हो । तर, यो परीक्षण विधिको विश्वसनियतामाथि भने प्रश्न उठ्न थालेको छ ।
झापा जिल्लाको दक्षिणी क्षेत्र बाह्रदशीका ५२ वर्षीय एक व्यक्तिको स्वास्थ्य परीक्षण दुईपटकसम्म र्यापिड टेष्टबाट गर्दा नेगेटिभ देखिएपछि उनी आफू स्वस्थ भएको र कोरोना संक्रमणबाट मुक्त रहेको आशा र विश्वासका साथ विभिन्न ठाउँ र साथीभाईसँग हिँडे तर, तेस्रोपटक पिसिआर विधिबाट उनको स्वाब परीक्षण गर्दा उनी कोरोना संक्रमित भएको पुष्टि भयो । यसले जिल्लाको दक्षिणी क्षेत्र मात्र नभएर झापा जिल्ला थप आतङकित बन्न पुगेको घटनाले यो विधि विश्वसनिय नभएको पुष्टि भईसकेको छ ।
सरकार पछिल्लोसमय विदेशबाट आउने र क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य परीक्षण द्रुत विधिबाट गर्नै योजनाका साथ अघि बढेको छ तर, यो विधिलाई विश्वास गर्न सकिने अवस्था भने देखिएको छैन । कोरोना भए÷नभएको पुष्टि गर्न प्रभावकारी नरहेको यो विधिलाइ सरकारले नजर अन्दाज गरेर यसको रिजल्टलाई विश्वास गर्दै कोरोना नभएको घोषणा गरिरहेको छ । यसले नेपालमा जोखिम भने बढाउँदै लगेको छ ।
अन्य मुलुकमा १५ दिन क्वारेन्टाइनमा राख्दा संक्रमण पुष्टि हुने गरेपनि नेपालमा भने कोरोना चुनौती बनेको छ । अन्य देशका नागरिकलाई जस्तो संक्रमण र लक्षण नदेखिँदा नेपालमा संक्रमितहरुको पहिचान हुन कठिन हुँदै गएको छ ।चीनबाट ल्याएको किट भरपर्दाै नभएको र यसको प्रयोगमा विश्वास गर्न नसकिने विज्ञहरुले बताईरहँदा सरकारले भने सोही किटको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । भारतले भने चीनबाट ल्याएको उक्त किट भरपर्दाे नभएको भनि प्रयोगमा रोक लगाईसकेको छ । नेपाल सरकारले उक्त किटको प्रयोगबाट आएको रिजल्टलाई विश्वास गरेर नेपालमा कोरोना संक्रमितहरु नबढेको गर्व गरिरहेको छ । यदि झापाको जस्तो रिजल्ट देशभर देखियो भने स्थिति भयाबह नहोला भन्न सकिन्न । त्यसैले, कोरोना परीक्षण विधिलाई भरपर्दाै र विश्वसनिय बनाउन सरकारले पिसिआर विधिको दायरालाई बढाउनुको विकल्प देखिँदैन । यसतर्फ सरकारको अविलम्ब ध्यान जान जरुरी छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु