जनताको कठिनाइलाई बुझौँ

2020-08-31 मा प्रकाशित

प्राचीन संस्कार र संभ्यता बोकेको हाम्रो नेपाली समाज अनि हाम्रा छुट्टै मौलिक परम्परा रीतिरिवाज तथा चाडपर्वहरू रहेका छन् ।
हाम्रा पर्वहरूले परिवारबीचमा मिलन तथा खुसी साटासाट गरी पीडालाई भुलाउने गर्दछन् । पछिल्लो समय विश्व महामरीको रूपमा फैलिएको कोरोनाका भाइरसको त्रासले आर्थिक, सामाजिक र मानसिक पीडामा ५ महिनासम्म चिन्तित बनेको हाम्रो नेपाली समाज यतिखेर सबै कुरालाई भुलेर केही क्षण भए पनि रमाउने प्रयास गरिरहेको छ ।
केही साता यता हाम्रा चाडपर्व सुरु भइसकेका छन्, नागपञ्चमी, जनैपूर्णिमा, कुसे औँसी हुँदै नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिजसमेत सकिएको छ । महिलाहरूले सामाजिक दूरी कायम राखेरै भए पनि आफ्ना सबै पीडालाई भुलेर मठमन्दिरमा भेला भई पूजाआजा गर्दै नृत्यमा रमाए । चाडपर्वले एकातिर खुसी ल्याएको छ भने अर्कातर्फ थप आर्थिक भार बढ्ने चिन्ताले धेरैलाई पिरोल्न थालेको छ ।
बितेका पर्वहरूसँगै अब ठूला चाडपर्व नजिकिँदै गएका छन् । तर पाँच महिना अधिकांश विपन्न समुदायले राम्रो र मिठो खानासमेत पाएका छैनन् । यतिखेर माड खाएर भए पनि प्राण जोगाइ राख्ने भन्ने चिन्ता उनीहरूमा छ । हुनतः सम्पन्न परिवारसमेत पीडाबाट मुक्त छैन, कोरोनाको त्रासले समाज आक्रान्त छ । अधिकांशको रोजगारी गुमेको छ भने आम्दानीको बाटो बन्द भएका छन् ।
यस्तो विषम परिस्थितिमा समेत सरकारले जनतालाई कर तिर्न बाध्य बनाइरहेको छ । अतिरिक्त शुल्क फाइन तिर्नुपर्ने बाध्यताले जनता ऋण काढेरै भए पनि राजस्व कार्यालयमा धाइरहेका छन् ।जनता आर्थिक चपेटामा रहेको यस्तो बेलामा अत्यावश्यकीय उपभोग्य वस्तुको मूल्य भने आकासिएको छ ।
अब ठूला चाडपर्व नजिकिँदै गर्दा अझै मूल्य बढ्ने निश्चित छ । मौकामा चौका हान्ने व्यापारीहरूको पुरानै परिपाटी हो तर यस्तो बेलामा सरकार भने लाचार बनेर रमिता हेरिरहेको छ । आर्थिक कठिनाइबीच गुज्रिएको नेपाली समाज कसरी जीवन निर्वाह गर्दै छ । सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु