धुलाबारी माविको पूर्वविद्यार्थी समाजको अध्यक्षमा कोइराला

2026-10-20 मा प्रकाशित

धुलाबारी । धुलाबारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको तेस्रो अधिवेशनले हरि कोइरालालाई अध्यक्षतामा सर्वसम्मत चयन गरेको छ । कोइरालाको अध्यक्षतामा १४ सदस्यीय पूर्वविद्यार्थी समाज गठन भएको छ । पूर्वविद्यार्थीहरूको पुनर्मिलन, शुभकामना आदानप्रदान, पूर्वविद्यार्थी सम्मान तथा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो। नवनिर्वाचित समितिको कार्यकाल दुई वर्षको रहनेछ।

समितिको उपाध्यक्षमा लीला प्रसाद भण्डारी, माया न्यौपाने, भुपेन्द्र कडरिया, सन्तोष प्रसाईं र सन्तोष धमला चयन भएका छन्। त्यस्तै, महासचिवमा सागर खनाल, सचिवमा यमनाथ ९युवराज० रेग्मी र कोषाध्यक्षमा केशव पोखरेल चयन भएका छन्। समितिका सदस्यहरूमा योगेन्द्र आचार्य, विशान्त कटुवाल, नारायण खनाल, सुभाष रिजाल र किरण श्रेष्ठ चयन भएका छन्। निर्वाचन सहजीकरण समितिका संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले नयाँ कार्यसमिति चयन भएको जानकारी दिए। अधिवेशनका अवसरमा विभिन्न विधामा विद्यावारिधि हासिल गर्न सफल विद्यालयका पूर्वविद्यार्थीहरू संगीतकार टीका भण्डारी, शमशेर श्रेष्ठ, हरि कट्टेल र जीवन पौडेललाई सम्मान गरिएको थियो।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले पूर्वविद्यार्थी मदन प्रसाईंले एक लाख ५१ हजार रुपैयाँको ‘भानु उषा स्मृति अक्षयकोष’ स्थापना गर्ने घोषणा गरेका छन्। अक्षयकोषले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मेचीनगर नगरपालिकाका प्रमुख तथा विद्यालयका पूर्वविद्यार्थी गोपाल बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुइँटेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। पूर्वविद्यार्थी समाजका अध्यक्ष ध्रुव कनालको अध्यक्षतामा सम्पन्न अधिवेशनले विद्यालयसँग पूर्वविद्यार्थीको सम्बन्ध थप सुदृढ बनाउँदै शैक्षिक विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु