बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले दशैंको बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा निरन्तर सञ्चालन गर्ने भएको छ।
अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म अर्थात् अष्टमीदेखि एकादशीसम्म चार दिन आकस्मिक कक्षमार्फत उपचार सेवा उपलब्ध गराउने भएको हो। अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीका अनुसार चाडपर्वका समयमा पनि बिरामीले सहज रूपमा स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले बिदाका दिनमा समेत अस्पताल सञ्चालन गर्न लागिएको हो।
यस अवधिमा आकस्मिक सेवासँगै रेडियोलोजी, प्रयोगशाला र अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन्। चाडपर्वका बेला सवारी दुर्घटनाबाट हुने चोटपटक, हृदयाघात, अपच, झाडापखालालगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकसहितको उपचार व्यवस्था मिलाइएको गिरीले बताए।
दशैंको बिदामा अस्पताल बन्द हुने आशंकाले बिरामी उपचार सेवाबाट वञ्चित हुने वा अन्योलमा पर्ने अवस्था अन्त्य गर्न सेवा सञ्चालनबारे जानकारी गराइएको उनले बताए।
अस्पतालका अन्य नियमित सेवा बन्द वा सीमित हुन सक्ने भए पनि बिरामीलाई उपचारमा असहज नहोस् भनेर आकस्मिक कक्षलाई थप व्यवस्थित बनाइएको गिरीले जानकारी दिए। उनका अनुसार आकस्मिक कक्षमा थप डेस्कको व्यवस्था गरी ओपीडीमार्फत सेवा लिनुपर्ने बिरामीलाई समेत उपचार उपलब्ध गराइनेछ।
चाडपर्वको उल्लाससँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै अस्पतालले बिदाका दिनमा पनि उपचार सेवा निरन्तर राख्ने तयारी गरेको हो

प्रतिकृया दिनुहोस्