आराध्य साकोसको नवौं वार्षिक साधारण सभामा सम्मान

2024-11-24 मा प्रकाशित

इटाभट्टा । मेचीनगर –७ मदन बस्तीमा प्रधानकार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
मेचीनगर – ८ स्थित किरात याक्थुङ चम्लुङ्गको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर– १५ का वडाध्यक्ष राजन भट्टराईले गरे । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले समाज रुपान्तरणको भरपर्दाे आधार सहकारी भएको बताए । ‘सहकारीको माध्यमले समाजमा धेरै परिवर्तन आएको छ । समाज समृद्धि तर्फ अघि बढेको छ,’ उनले भने, ‘सहकारीले सदस्यहरुलाई कर्जा मात्र प्रवाह गरिरहेको छैन, उनीहरुको जीवनमा समृद्धि ल्याउन भूमिका पनि निर्वाह गर्दै आएको छ ।’ आराध्य साकोस समाजको आवश्यक्ताले जन्मिएको संस्था भएको बताउँदै उनले आराध्यले मजदुरी गरेर खाने ग्रामीण भेगका समुदायलाई फाइदा पुगेको बताए ।


पछिल्लो समय केही सहकारी सञ्चालकहरुले संस्थाको हित विपरित काम गर्दा देशभर त्यसको नकारात्मक प्रभाव पर्न थालेको उनको भनाई थियो । ‘सहकारी क्षेत्रमा विश्वासको संकट सिर्जना हुँदै गएको छ,’ वडाध्यक्ष भट्टराईले भने, ‘ऋण खाएर तिर्नु पर्दै भन्नेहरुले पनि थप समस्या सिर्जना गरेका छन् । त्यसको सबैले प्रतिवाद गर्नु पर्छ ।’ सहकारीको मूल्य, मान्यता र सिद्यान्तलाई आत्मसाथ गरेर सञ्चालन भएका सहकारीमा कहिल्यै पनि समस्या नआउने उनको भनाई थियो । उनले सञ्चालक समिति र कर्मचारीलाई नीति र सिद्यानत भन्दा बाहिर नजान आग्रह समेत गरे ।
कार्यक्रममा मेचीनगर– ७ का ज्येष्ठ नागरिक समितिका अध्यक्ष पीताम्बर शर्माले आराध्य सहकारीले सदस्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको भन्दै सञ्चालक समितिको कामको प्रशंसा गरे । उनले मेची कृषक बहुमुखी सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको सफलताको आधार सञ्चालक समिति र कर्मचारीको भएको बताउँदै सोही अनुसार आराध्यपनि अघि बढ्न सुझाव दिए ।
वार्षिक साधारणसभाको अवसरमा संस्थाले ६ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा सलोवाला राजवंशी, निमसरी राजवंशी, शिवलाल सुनुवार, दिपा थापा, नन्दकुमारी ढकाल र लिला बि क रहेकम छन् । उनीहरूलाई नगदसहित जाडोमा न्यानो पार्ने मझेत्रो प्रदान गरिएको थियो ।


सहकारीले असल ऋणी तर्फ रत्नकुमारी फुयाल, उर्मिला राजवंशी त्यसैगरी उत्कृष्ट बचतकर्ता तर्फ कान्ति झा र पन्चहाङ लिम्बुलाई समेत सम्मान गरेको छ ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष भट्टराई, विशिष्ट अतिथि प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, मेचीनगर सञ्चार प्रतिष्ठान सचिव प्रकाश पौडेल, जेष्ठ नागरिक मञ्च मेचीनगर ७ अध्यक्ष पीताम्बर पौडेल तथा आराध्य बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता राजवंशी, उपाध्यक्ष युवराज आचार्यलगायतले सम्मान प्रदान गरेका थिए ।


सहकारी संस्थाकी संस्थाकी अध्यक्ष गीता राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्षको प्रतिवेदन उपाध्यक्ष युवराज आचार्यले प्रस्तुत गरेका थिए ।
२०७३ सालमा स्थापित सहकारीमा हाल १७३२ सेयर सदस्य तथा २४ लाख ३९ हजार ४०० चुक्ता सेयर रकम पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले आगामी वर्ष ३४ लाख ३९ हजार ४०० शेयर पूँजी पुरर्यायने लक्ष लिएको छ । यो सँगै सहकारीले सदस्य केन्द्रित विभिन्न कार्यक्रमलाई समेत प्रतिवेदनमा समेटेको छ ।
सहकारी संस्थाकी कर्मचारी कल्पना राजवंशीले स्वागत गरको कार्यक्रमको सञ्चालन सहकारीका कार्यकारी प्रमुख कलम ढुंगेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु