मेचीनगर, १० फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले काँकरभिट्टा बजार क्षेत्रमा अनाधिकृत सवारी साधानको पार्किङले हरेक दिन समस्या बढ्दै गएको बताएका छन् । उनले अनाधिकृत सवारी साधानको पार्किङले काँकरभिट्टा क्षेत्र अस्तब्यस्त बन्दै गएको र केहीगरी आगलागी भएमा दमकल हिड्ने ठाउँ समेत नहुने अवस्था आएको बताए ।
आज काँकरभिट्टा स्थित पूर्व मेची बस व्यवसायी प्रालिको सभाहलमा नगरपालिकाको बस टर्मिनल, बस पार्क तथा पार्किङ व्यवस्थापन समिति अन्तरगको पार्किङ व्यवस्थापन उपसमितिले आयोजना गरेको पार्किङ व्यवस्थापन सम्बन्धीको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।
उनले अव्यवस्थित सवारी साधानहरुको पार्किङले काँकरभिट्टा बजार क्षेत्रमा आगलागी भइहाले तुरुन्त दमकल लान सक्ने अवस्था नभएको बताए ।
‘काँकरभिट्टाका विभिन्न चोकमा जथाभावि सिटी रिक्सा, ट्याम्पो, कार, जिप र भारतीय गाडीहरुले गर्दा दुर्घटनाको जोखिम छ’, बुढाथोकीले भने–‘काँकरभिट्टा क्षेत्रमा अचानक आगलागी भइहाले दमकल छिराउने ठाउँ हुँदैन । सिटी रिक्सा, ट्याम्पो, गाडी बाटोमा छाडेर हिड्ने गरेका छन् । तत्काल दमकल हिडाउने मुस्किल पर्छ ।’
उनका अनुसार पहिला सिटी रिक्सा दर्ता नहुँदा कराए । अहिले नगरपालिकाले दर्ता गर्न आउँ भन्दा आउँदैनन् । पार्किङ व्यवस्थापन समितिले कानून अनुसार काँकरभिट्टा बस टर्मिनल र प्यारिभिट्टा बस पार्कको व्यवस्थापन गर्न गेयर चेन्ज गरेर स्पिडमा लाग्नु पर्छ ।
पर्यटकबाहेक भारतीय गाडीहरुलाई सुविधा काटेर पार्किङको व्यवस्थापन गर्न नसकिने नगरप्रमुख बुढाथोकीको भनाई छ ।
उनले देशैभरिबाट आएका गाडीहरु काँकरभिट्टा क्षेत्रमा अट्दैनन् भनेरै यात्रु चढाउने र उर्तान बस टर्मिनल राखिएको बताए । प्यारिभिट्टामा बस पार्क राख्नका लागि नै नगरपालिकाल जग्गादाताहरुसँगबाट वि.स.२०५५ सालमा जग्गा लिएको उनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा बस टर्मिनल, बसपार्क तथा पार्किङ व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले सरोकारवाला सबैसँगको छलफलबाट काँकरभिट्टा बजार क्षेत्रमा पार्किङको व्यवस्थापनका लागि यही फागुन १५ गतेदेखि सबै प्रकृतिका सवारी साधानको व्यवस्थापन गरिने जानकारी दिए ।
अन्तरक्रियामा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मका प्रमुख डिएसपी शमशेरबहादुर कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्की, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुख सई पूर्ण गौतम, बस टर्मिनल, बसपार्क तथा पार्किङ व्यवस्थापन समितिका सचिव माधव अर्याल लगायतले कानून अनुसार मापदण्ड बनाएर जानु पर्ने बताएका थिए ।
त्यस्तै अन्तरक्रियामा स्थानीय राजकुमार सुवेदी, हर्क फ्याक सुब्बा, दिलकुमार पाख्रिन, यज्ञ मैनाली, रामबहादुर राई, विवेक लिम्बु, सोनु ओली लगायतले काँकरभिट्टा बजार र मेची पुलको पार्किङ व्यवस्थापन गर्न कसैको दबावमा नपरी इमानदार भएर काम गरे सहयोग गर्न तयार रहेको बताएका थिए ।
पार्किङ व्यवस्थापन उपसमितिका अध्यक्ष रामबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य नेत्रबहादुर कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्