मेचीनगर । होटल व्यवसायी संघ मेचीनगर र पर्यटन कार्यालय काँकरभिट्टाको संयुक्त आयोजनामा सञ्चालित क्षमता अभिबृद्धि कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
होटल व्यवसायी संघ मेचीनगरको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा मेचीनगर क्षेत्रका होटल व्यवसायी, यातायात व्यवसायी, सिटीरिक्सा व्यवसायी, पर्यटन व्यवसायी लगायत पर्यटनसँग सरोकार राख्ने बिभिन्न संघ– संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
पर्यटन वर्ष २०८२ लाई लक्षित गरेर आयोजित कार्यक्रममा अन्तराष्ट्रिय पर्यटकहरुलाई आकर्शित गर्न हाम्रो व्यवहार, आचरण र उनीहरुलाई गरिने सत्कारले प्रभाव पार्ने भन्दै पर्यटकहरुसँग राम्रो व्यवहार गर्नु पर्ने वक्ताहरुको जोड थियो ।
दुई दिनसम्म चलेको प्रशिक्षणमा पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख छविलाल खतिवडा र प्रशिक्षक आकाश श्रेष्ठले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागिहरुले अन्तराष्ट्रिय पर्यटकहरुलाई पूर्वी नाकाबाट कसरी बढी भन्दा बढी भित्राउन सकिन्छ र त्यसकालागि कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयमा खुलेर चर्चा गरे ।

होटल ब्यवसायी संघका अध्यक्ष सुरेश कुमार श्रेष्ठ (गोपाल) को सभापतित्व तथा मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले साना होटल व्यवसायीदेखि ठूला होटल व्यवसायी सुरक्षा निकायका बिभिन्न अंगहरु, अध्यागमन कार्यालय, पर्यटन व्यवसाय तथा पर्यटन कार्यालयले उचित ढंगको समन्वय, सहकार्य र आवश्यक किसिमको स्वागतका कार्यक्रमलाई संयोजन गरेरर अघि बढ्ने हो भने पर्यटन व्यवसाय फस्टाउन समय नलाग्ने बताए । उनले यसका लागि सामुहिक भावनाको विकास हुनु पर्नेमा जोड दिए ।
नगरप्रमुख बुढाथोकीले मेचीनगरपालिकाले कार्यान्वयनमा ल्याउन लागेको एकीकृत सेवा प्रणाली, योजना बैंक र करका विषयमा समेत चर्चा गरेका थिए ।
प्रशिक्षको अवसरमा पर्यटकहरुलाई कहाँ बस्ने र घुम्ने भन्ने कुरा हाम्रो व्यवहार र आचरणले प्रभाव पार्ने भन्दै पर्यटन कार्यालयका प्रमुख खतिवडाले पर्यटकहरुलाई मुस्कान सहितको व्यवहार गर्नु पर्ने बताए । उनले मेचीनगर तथा झापा जिल्ला र त्यसभन्दा बाहिर थुप्रै पर्यटकीय गन्तब्य रहेको भन्दै घुम्न आउने पर्यटकहरुलाई हाम्रा पर्यटकीय गन्तब्यका बारेमा बुझाएर पठाउन र सोही अनुसारको व्यवहार गर्न आग्रह गरे । पर्यटकहरुलाई आकर्शित गर्ने पहिलो माध्यम मानवीय आचारण र ब्यवहार भएको उनको भनाइ थियो ।
प्रशिक्षक आकाशले पर्यटकहरुलाई गर्नुपर्ने सकारात्मक व्यवहारका चर्चा गरेका थिए । सहभागिहरुले पूर्वी नाकालाई व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्शित गर्न सरकारले धेरै प्रयत्न नगरेको गुनासो समेत गरेका थिए ।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले प्रमाणपत्र वितरण गरेका थिए ।
होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरीेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव हस्तबहादुर तामाङले गरेका थिए ।


प्रतिकृया दिनुहोस्