डम्बर बराल
मेचीनगर । मेचीनगर – ९ खुट्टीडाँगीका ६९ वर्षीय केशर अधिकारी यस वर्ष धान रोप्न नपाइएला भनेर चिन्नताले पिरोलिएका छन् ।
हरेक वर्ष साउनको १० गते सम्ममा रोपाइँ सक्दै आएका अधिकारी यस वर्ष साउन चार गते वितिसक्दा पनि पर्याप्त पानी नपरेपछि खेत बाँझै हुने भयो भन्ने चिन्ताले पिरोलिएका हुन् ।
यस वर्ष अध्याधिक वर्षा हुन्छ भन्ने सुनेका अधिकारीले एक महिना अघि नै मकै भाँचेर बाँझो खेत जोते । चाँडै धानरोप्ने सोचका साथ खेत जोतेका अधिकारीको खेत हिल्याउने त परको कुरा समयमा पानी नपरेपछि यतिखेर उनको खेत पुनः बाँझै भइसकेको छ ।
जब आकाशमा बादल मडारिएर गड्याङ गुडुङ गर्छ उनी उत्साहित हुन्छन् तर उनको उत्साह क्षण भरमै हराउँछ । टन्टलापुर घाममा आली अैचेला गर्दै गरेको अवस्थामा भेटिएका अधिकारीले अनुहारको पसिना पुछ्दै भने,
‘यस वर्ष पर्याप्त पानी नै पर्न सकेन । १५ गते सम्म रोपाइँ गर्न सकिएन भने बीउ पनि काम लाग्दैन, खेत बाँझै हुन्छ होला ।’
उनको खेतमा कुलोको पानी आउन जरुवामा मूल फुट्नु पर्छ, तर पानी नपरेको कारण मूल फुटन सकेको छैन ।
उनले घर कित्तामा एक विगाह १० कठ्ठा र थप २ विगाह गरी जम्मा ३ विगाहा १० कठ्ठा जमिनमा धान खेती गर्दै आएका छन् । बलौटे माटो भएकोले सो क्षेत्रमा बोरिङको पानीले मात्र खेती प्रभावकारी नहुने उनले बताए । ‘बोरिङको पानी लगायो दुई घण्टापनि खेतमा अडिँदैन । अनि कसरी खेती गर्नु,’ उनले भने, ‘बोरिङको मात्रै पानी लगाउँदा आम्दानी भन्दा खर्च बढी हुन्छ ।’
सो क्षेत्रका किसानले थोप्ले विरान बनको पुछारबाट जरुवाको पानी ल्याएर खेतमा सिँचाइ गर्दै आएका छन् ।

सोही वडाका मेघराज चौधरीको पीडा त्यो भन्दा कम छैन । उनको खेत यतिखेर बाँझै छ, खेतमा मकैको ढोड ठडिएको छ । ‘टन्टलापुर घाममा पहेँलिएर मर्न थालेको धानको बीउ हेरेर टोलाइरहेका चौधरीले भने, ‘खेत बाँझै छ, पानी परेर खोलामा बाढी नआएसम्म खेतमा पानी आइपुग्दैन, के गरेर धान रोप्नु ?, बीउ पनि मर्न थाल्यो, यस वर्ष त खेत बाँझै हुन्छ होला ।’ उनले पानीको बैकल्पिक श्रोत नहुँदा समयमा धान रोप्न नसकिएको दुखेसो पोखे ।
अधिकारी र चौधरी मात्रै होइन सो क्षेत्रका अधिकाँश किसानको खेत बाँझै छ, मकै भाँचेर ढोड ठढिएका छन्, कतिले आली अैचेला गरिसके सबै पानीको पर्खाइमा छन् ।
चौधरीले साढे तीन विगाह जमिनमा खेती गर्दै आएको सुनाए । यहाँ पानीको बैकल्पिक श्रोत छैन् आफनै बारीमा हुर्किएका सुपारीका विरुवा देखाउँदै उनले भने, सुपारीका विरुवा हुर्कदै छन् अव क्रमश धान खेतीको विकल्पमा सुपारीका विरुवा रोप्ने सोच बनाएको छु ।
मेचीनगर ९ सिरान मागुरमाडीका लक्ष्मी पौडेलले समेत आफ्नो खेत बाँझै भएको सुनाए । बोरिङ हुनेहरुले अलिअली रोपेका छन् उनले भने खोलामा बाडी नआएसम्म कुलोमा पानी आउँदैन हाम्रो तिर पानीको अरु विकल्पनै छैन ।’
धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा ४१.६७ प्रतिशत मात्र रोपाई भएको बताए । उनले भने, ‘बर्षा नभएका कारण किसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन् । जति रोपाई भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो ।’
झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुने गरेको बिष्टले बताए । छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नु पर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्