इटाभट्टा । मेचीनगर –७ स्थित इटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार सञ्चालनमा आएको छ । मेचीनगर ७ वडाकार्यालय समन्वय तथा बजार व्यवस्थापन समितिको पहलमा साप्ताहिक हाटबजार सुर भएको हो । साप्ताहिक हाट बजार सञ्चालनमा आएपछि ,स्थानीय व्यवसायीहरु उत्साहित बनेका छन् । मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले बुधबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा रिविन काटेर हाट बजारको उद्घाटन् गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले मेचीनगरको मुटु मानिएको इटाभट्टा दशकौं वित्दा पनि अझै पनि विकासको पूर्वाधारबाट पछि परेको बताउँदै यसको दीगो विकासमा लाग्ने प्रतिद्धता जनाए ।
दीगो विकासको लागि सहकार्य र सहरीकरणको लागि आवश्यक तथा व्यवस्थित खाका कोर्न नसक्दा इटाभट्टाले गतिलिन नसकेको उनको भनाइ थियो । ‘शहरी क्षेत्र हुन बजार व्यवस्थित हुनु पर्छ, तर हामीले त्यो व्यवस्था गर्न सकेका छैनौं’ उनले भने, ‘जहाँ जसलाई जसरी घर बनाउन मनलाग्यो त्यसरी नै घर बने, क्रमश घरहरु बन्दै गए । दीगो विकासको लागि कसैको ध्यान गएन, अव हामी त्यस तर्फ ध्यान दिने छौं ।

इटाभट्टामा सार्वजनिक जमिन नहुँदा सुन्दर इटाभट्टा निर्माण अभियानमा बाधा पुगेको बताउँदै उनले भने, ‘यहाँ पार्किङ्को समस्या छ । जतासुकै सिटीसफारी, अटो रिक्सा बसेका छन्, सब्जी पसल छरपष्ट छन्, बनेका संरचनाहरु समेत अव्यवस्थित छन् ।’ उनले आफ्नो क्षेत्रलाई सुन्दरता दिन स्थानीयले नै बढी सक्रियता देखाउनु पर्ने बताए ।

नगरप्रमुख बुढाथोकीले गाउँका उत्पादन यहाँ ल्याएर विक्री गर्न र ब्यवसायिक बन्न अनुरोध गरे । उनले स्थानीय उत्पादनलाई प्राथमिकताका साथ खरिद गर्न समेत आग्रह गरे ।
तीज विशेष कार्यक्रमलाई लक्षित गर्दै नगरप्रमुख बुढाथोकीले हाम्रा चाँड पर्वहरुले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउँदै लगेको बताए । ‘हाम्रो देशमा धेरैजसो पर्वहरु खास खास समुदायका थिए,’ उनले भने, ‘तर आज हरेक पर्व साझा पर्वको रुपमा विकास हुँदै गएको छ । यसले हाम्रो सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ ।’

कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेस भापा जिल्ला उपसभापति केशवराज पाण्डेले मेचीनगरको मुटु इटाभट्टा बत्ती मुनीको अँध्यारो जस्तै भएको बताउँदै समृद्ध इटाभट्टा निर्माणमा सबै राजनीतिक दलहरु र स्थानीय सरकारबीच छलफल हुन जरुरी रहेको बताए । ‘दीगो विकासको एउटा खाका कोर्नु पर्छ,’ उनले, ‘भने ठूलो राजमार्ग विस्तार हुँदै छ । बसपार्क, सिटी सिक्साको व्यवस्थापन समेत चुनौति छ । लामो समय सम्म इटाभट्टा सुस्त रयो, अव इटाभट्टाले बृहत रुप लिँदै छ । यसलाई कसरी व्यवस्थित गर्ने त्यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’
कार्यक्रममा समाजसेवी दिनेश राजबंशी, बजार व्यवस्थापन समितिका अध्यक्ष खडानन्द भण्डारी लगायतले हाट बजारलाई व्यवस्थित गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।

मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा वडाध्यक्ष ओलीले मेचीनगर ६, ७, र ८ को केद्रमा रहेको इटाभट्टा हाट बजारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारी करणको लागि किसानलाई प्रोत्साहित गर्ने बताए ।
कार्यक्रमको सञ्चालन वडा सचिव लक्ष्मी राईले गरेकी थिइन् । उद्घाटन कार्यक्रममा झापा नेशनल स्कूलका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । औपचारिक बजार उद्घाटन कार्यक्रम पछि महिलाहरुले नाचगान गरेर हरितालिका तीज वर्ष समेत मनाएका थिए । मेचीनगर ७ वडा कार्यालय पछाडिको भागमा नगरपालिकाले करिव ७ वर्ष अघि निर्माण गरेको पक्की टहरा हालसम्म प्रयोग विहीन थिए । हाट बजार सुरु भएपछि ती टहरा प्रयोगमा आएका छन् ।




प्रतिकृया दिनुहोस्