डम्बर बराल
मेचीनगर । झापाको मेचीनगर– ७ स्थित इटाभट्टामा तीन साता अघिबाट सञ्चालनमा आएको साप्ताहिक हाटबजारमा व्यापारी तथा उपभोक्ताहरुको भीड बढ्न थालेको छ ।
हरेक बुधबार लाग्ने उक्त हाटबजारमा स्थानीय अर्गानिक उत्पादन बिभिन्न किसिमका तरकारी, घरायसी प्रयोजनका बिभिन्न सामाग्री तथा लत्ता कपडा समेत पाउन थालेपछि बजारमा उपभोक्ताको भीड बढ्न थालेको हो । पहिलो हप्ता सामान्य रहेको बजार दोस्रो हप्ता केही आसलाग्दो बनेको थियो । सो बजार तेस्रो हप्ता आइपुग्दा निक्कै भीडभाड देखियो ।

तेस्रो हप्ताको बजार भर्न तथा बजारमा रमिता हेर्न मेचीनगर ५, ६, ७, ८, ९, १० र १५ नम्बर वडाका उपभोक्ता बजारमा भेटिए । बजारमा टाटा टाडाबाट ब्यापारी तथा आफ्नो स्थानीय उत्पादन बिक्रीको लागि किसानहरु समेत सहभागि भएको बजार व्यवस्थापन समितिका अध्यक्ष खडानन्द भण्डारीले जानकारी दिए । उनले बजारमा स्थानीय उत्पादनले समेत राम्रो ठाउँ पाएको बताए । ‘हामी स्थानीय उत्पादनलाई समेत बजारीकरण गर्ने सोचमा थियौं,’ उनले भने, ‘आज आफ्नै बारीमा उत्पादन गरेको साग, कोलाको बुंगो, लौका, गुन्द्रक तथा बिभिन्न तरकारी लिएर दिदी बहिनीहरु समेत आउनु भएको छ । उपभोक्ताहरुको समेत उल्लेख्य सहभागिता छ ।’

ठूलो संख्यामा व्यापारी तथा उपभोक्ताले बजार भरिएपछि उत्साहित बनेका मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले सोचेभन्दा बढी मात्रामा व्यापारी तथा उपभोक्ता सहभागि बनेको प्रतिक्रिया दिए । ‘बजार सफल होला की नहोला भन्ने चिन्ता थियो,’ उत्साहित हुँदै उनले भने, ‘ अब यो बजारले गतिलियो । सबैजनाको सहकार्य र सहयोग भने निरन्तर चाहिन्छ ।’

इटाभट्टाको बजारलाई सफल बनाउन बजार व्यवस्थापन समिति, वडा कार्यालय, नगरपालिका, स्थानीय व्यवसायी, उपभोक्ता तथा सञ्चारकर्मीहरुको महत्वपूर्ण योगदान रहेको उनले बताए ।
आगामी साताबाट खसी, बाख्राको समेत हाट बजार सुरु गर्ने उनले जानकारी दिए । ‘हामी ठाउँ व्यवस्थापनमा जुटेका छौं,’ उनले भने, ‘कुनै पनि उपभोग्य बस्तु खरिदकोलागि अब टाढा धाउनु पर्दैन ।’
बुधबार तेस्रो हप्ताको बजारमा भर्न मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेती समेत सहभागि बनेका थिए ।

मेचीनगर–७ वडा कार्यालयको समन्वयमा बजार व्यवस्थापन समिति इटाभट्टाले तीन साता अघिबाट हाटबजार सञ्चालनमा ल्याएको हो ।
बुधबार मेचीनगरको मुख्य बजार धुलाबारी तथा सिमापारीको पानीट्याकंी बजार बन्द रहने भएका कारण पनि इटाभट्टाको साप्ताहिक हाटबजार प्रभावकारी रुपमा सञ्चालन हुने समितिले विश्वास लिएको छ ।


प्रतिकृया दिनुहोस्