नवनिर्वाचित सदस्य सचिन निरौलाको प्रतिबद्धता : “सम्मानभन्दा समस्या समाधान प्राथमिकता”

2026-05-13 मा प्रकाशित

धुलाबारी । मेची उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित युवा व्यवसायी तथा सामाजिक अभियन्ता सचिन निरौलाले उद्योगी–व्यवसायीहरूको समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन् ।

निर्वाचित भएपछि मेची आवाजसँग संक्षिप्त प्रतिक्रिया दिँदै निरौलाले धुलाबारी बजारको सडक समस्या, ग्रामीण सडकको अवस्था, चिया निर्यातमा देखिएका अवरोध तथा मेचीनगरमा उत्पादन हुने निर्यातजन्य भेनियर, प्लाइ लगायत विभिन्न वस्तुको निर्यातमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले कृषिजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति निर्माण, उद्योगी–व्यवसायीहरूले भोगिरहेका विभिन्न जटिलता समाधान तथा बजार व्यवस्थापनका विषयमा गम्भीरतापूर्वक काम गर्ने बताए ।

“मलाई प्राप्त भएको यो जिम्मेवारीलाई केवल पद वा सम्मानको रूपमा होइन, उद्योगी–व्यवसायीहरूको समस्या समाधान गर्ने अवसरका रूपमा लिएको छु,” उनले भने ।

विगत दुई दशकदेखि व्यवसाय, शिक्षा, उद्योग तथा सामाजिक क्षेत्रमा सक्रिय निरौलाले विभिन्न संस्थामार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १०० भन्दा बढी व्यक्तिलाई रोजगारी सिर्जना गर्दै आएका छन् ।

निर्वाचनमा आफूलाई विजयी गराउने सम्पूर्ण उद्योगी–व्यवसायी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा संस्थालाई अझ प्रभावकारी, जिम्मेवार र व्यवसायमैत्री बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् । साथै, धुलाबारी बजारको सडक निर्माण सम्पन्न भएपछि मात्र धुलाबारी क्षेत्रका व्यवसायीसँग बसेर खुशी साट्दै खादा र अविर लगाउने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु