मेचीनगर । झापाको मेचीनगर स्थित ४ नम्बर वडा कार्यालयले ‘योगदानको कदर, सेवाको सम्मान’ भन्ने नारासहित शुक्रबार पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ ।
२०१९ सालदेखि २०७४ सालसम्म वडाध्यक्ष तथा वडा सदस्यका रूपमा निर्वाचित भई जनसेवामा समर्पित भएका पूर्व जनप्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित हुने पूर्व वडाध्यक्षहरूमा अमरबहादुर बुढाथोकी, अशोक सुब्बा, सनदकुमार अधिकारी, रामबहादुर खड्का, मदनप्रसाद दाहाल, बमबहादुर लुङ्गेली, गाविस अध्यक्ष नीलकण्ठ तिवारी, वडाअध्यक्ष बादलु खड्का, इन्द्रबहादुर बुढाथोकी, निरज घिमिरे र नवीन बराल रहेका छन् ।
त्यसैगरी, पूर्व वडा सदस्यहरू चन्द्रबहादुर कार्की, निर्मला गौतम, मेघराज प्रधान, अरुण बराल, सीतादेवी राजवंशी, टंकबहादुर खड्का, अर्जुन कोइराला, विनोद रञ्जितकार, प्रह्लाद दाहाल, कमला दर्जी र मञ्जीता तामाङलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेती र डा. टीका भण्डारीलगायतले सम्मानित व्यक्तित्वहरूलाई सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले वडा नम्बर ४ ले इतिहासदेखि वर्तमानसम्मका जनप्रतिनिधिहरूलाई एउटै मञ्चमा उपस्थित गराएर उनीहरूको योगदानको कदर गर्नु प्रशंसनीय कार्य भएको बताए। उनले यस्तो विशिष्ट कार्यक्रम आयोजना गरेकोमा वडाध्यक्ष तथा सिंगो वडा कार्यालयको टोलीको प्रशंसा गर्दै विजया दशमी २०८३ को शुभकामनासमेत व्यक्त गरे ।
कार्यक्रममा सम्मानित पूर्व जनप्रतिनिधि अशोक सुब्बाले विगतमा जनप्रतिनिधिका रूपमा काम गर्दा भोगेका अनुभव र चुनौतीहरूको स्मरण गरेका थिए।
कार्यक्रममा संगीतकार भरत लामा र डा. टीका भण्डारीलगायतले गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय बनाएका थिए ।
वडा सदस्य नुरबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पुष्कर ढकालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्