मेचीनगर । मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाज पुनर्गठन गरिएको छ। समाजका अध्यक्ष तथा सक्रिय समाजसेवी शंकर भट्टराईको केही महिनाअघि निधन भएपछि नयाँ नेतृत्व चयन गरिएको हो।
आइतबार विद्यालय परिसरमा आयोजित पूर्वविद्यार्थीहरूको भेलाले पर्शुराम पराजुलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा मनमाया कटुवाल देवकोटा, सचिवमा सागर घिमिरे तथा सदस्यमा मिलनराज प्रसाईं, सूर्य अधिकारी, ध्रुव ओली, केदार निरौला, आनन्द खड्का, भूपाल बुढाथोकी, रमा भण्डारी र किशोर भण्डारी चयन हुनुभएको छ।
भेलाले विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधारका लागि दीर्घकालीन महत्त्वका निर्णयसमेत गरेको छ। पूर्वविद्यार्थी समाजले विद्यालयमा बस सुविधा र आवासीय व्यवस्थाको प्रबन्ध गर्ने, विपन्न तथा अनाथ बालबालिकाको शिक्षाको सुनिश्चितता गर्ने र विद्यालयको संग्रहालयलाई व्यवस्थित बनाउनेलगायतका योजना अघि सारेको छ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी एवं विद्यालयका पूर्वविद्यार्थी होमनाथ भण्डारी, मेचीनगर–८ का वडाध्यक्ष एवं पूर्वविद्यार्थी गिरिराज धमला, मेचीनगर–७ का वडाध्यक्ष एवं पूर्वविद्यार्थी प्रह्लादमणि ओली, नगरपालिकाका निवर्तमान लेखा अधिकृत तथा पूर्वविद्यार्थी पदमबहादुर कार्की, विद्यालयका पूर्वविद्यार्थी एवं पूर्वशिक्षक पुष्पराज पौडेल, पूर्वविद्यार्थी सुमन तिम्सिना र मुनामाया रानालगायतले विद्यालयमा अध्ययन गर्दाका तीता–मीठा अनुभव सुनाउनुभयो। उहाँहरूले विद्यालयको शैक्षिक सुधारका लागि पूर्वविद्यार्थीले खेल्नुपर्ने भूमिकाबारे पनि चर्चा गर्नुभयो।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विगतको शिक्षण पद्धति र शिक्षकहरूको सक्रियताले विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो। पढाइमा ध्यान नदिँदा शिक्षकले सजाय दिने गरे पनि त्यसमा माया र सद्भाव झल्किने गरेको उहाँहरूको भनाइ थियो। “त्यसबेला शिक्षकले हानेको भाटा र थप्पड नै हाम्रा लागि प्रेरणा र मार्गदर्शन बने। त्यसले हामीलाई अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गर्यो,” वक्ताहरूले विगत सम्झँदै भन्नुभयो। उहाँहरूको अनुभव सुनाउँदा सभाहल तालीको गडगडाहटले गुञ्जिएको थियो। सो अवसरमा विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले विद्यालयका तर्फबाट तयार पारिएको सोचपत्र वाचन गर्नुभयो। पूर्वविद्यार्थी समाजका नवनिर्वाचित अध्यक्ष पर्शुराम पराजुलीले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो।
पूर्वविद्यार्थी समाजका केदार निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव दामोदर ढुंगेलले गर्नुभएको थियो। २०२५ सालमा स्थापना भएको आदर्श माध्यमिक विद्यालयले २०४० सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सहभागी गराउन थालेको थियो। आइतबार आयोजित भेलामा २०४० सालदेखि हालसम्म एसएलसी तथा एसईई उत्तीर्ण पूर्वविद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्