झापा । झापाको कनकाई नगरपालिका–१ (तत्कालीन सुरुङ्गा गाविस) को जामुनबारीमा २०३३ साल चैत १९ गते बुबा शिवप्रसाद बराल र आमा इन्द्रकला बरालका कान्छा सुपुत्रका रूपमा जन्मिएका टिकाराम बरालको जीवनयात्रा अभाव, जिम्मेवारी र सामाजिक चुनौतीसँग जुध्दै अघि बढेको संघर्षको कथा हो ।
ब्राह्मण परिवारमा जन्मिएका बरालले २२ वर्षको उमेरमा सुन–चाँदी व्यवसाय सुरु गर्ने निर्णय गर्दा परिवार र समाजको अपेक्षित साथ पाएनन् । आर्थिक अवस्था कमजोर थियो, व्यवसायको अनुभव थिएन र सुन तथा अन्य धातुबीचको फरकसमेत छुट्याउन सक्ने ज्ञान थिएन । तर आफ्नै खुट्टामा उभिने दृढ इच्छाशक्तिले उनलाई रोक्न सकेन । २०५६ सालमा सीमित पूँजीबाट सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै उनले आज आफ्नो छुट्टै पहिचान बनाएका छन् ।
आज दुईवटा सुन पसल सञ्चालन गर्दै जिल्लाका प्रतिष्ठित व्यवसायीका रूपमा परिचित बरालले व्यवसाय सुरु गर्दा सुन र पित्तलबीचको भिन्नतासमेत छुट्याउन सक्दैनथे । तर शून्य अनुभवबाट सुरु भएको उनको व्यावसायिक यात्रालाई इमानदारी, धैर्य र निरन्तर मेहनतले सफलताको उचाइसम्म पु¥याएको छ ।
बाल्यकालमा उनी पढाइमा निकै कमजोर विद्यार्थी थिए । भृकुटी विद्यालयमा कक्षा दुई पढेर तीनमा प्रवेश गर्दा उनी आठ वर्षका थिए । त्यसैबेला कोटिहोममा भएको सामूहिक व्रतबन्धमा उनी पनि सहभागी भए र त्यहीँ उनको व्रतबन्ध गरियो । पढाइमा कमजोर भएकै कारण उनलाई भृकुटी माध्यमिक विद्यालयबाट निकालेर कोटिहोमस्थित गुरुकुलमा भर्ना गरियो । त्यतिबेला गाउँमा साइकलसमेत दुर्लभ थियो । उनी दैनिक जामुनबारीदेखि कोटिहोमसम्म पैदल हिँडेर पढ्न जान्थे ।
यातायातको असुविधा र गुरुकुलसम्म आउजाउ गर्न कठिनाइ भएपछि दुई वर्षमै उनी घर फर्किए । त्यसपछि पुनः भृकुटी माध्यमिक विद्यालयमा कक्षा तीनमै भर्ना भए । कक्षा १० मा पुगेपछि चार–पाँच महिना लामो बिरामीका कारण फेरि कक्षा दोहो¥याउनुप¥यो । गुरुकुलका दुई वर्ष र विद्यालयमा एक वर्ष पढाइ दोहो¥याउँदा उनको शैक्षिक यात्रा चार वर्ष पछाडि धकेलियो । फलस्वरूप २०५० सालमै दिनुपर्ने एसएलसी परीक्षा उनले २०५४ सालमा मात्र दिए । उनका सहपाठीहरू उनीभन्दा तीन–चार वर्ष कान्छा थिए ।
एसएलसीपछि उनले सुरुङ्गास्थित कनकाई क्याम्पसमा आईए पढ्न थाले । तर जीवनले त्यतिबेला उनलाई पुस्तकभन्दा बढी जिम्मेवारी सिकाइरहेको थियो । पाँच सन्तानमध्ये सबैभन्दा कान्छा टिकाराम सानै उमेरदेखि परिवारको मुख्य सहारा बन्न पुगे । उनका तीनै जना दिदीहरूको विवाह भइसकेको थियो भने दाजु भारतमा पढ्दै थिए । पछि दाजु दिल्लीस्थित झन्डेवाला देवी मन्दिरमा काम गर्न थाले । दाजुसमेत घरबाहिर भएपछि खेतीपातीदेखि घर मर्मतसम्मको जिम्मेवारी टिकारामकै काँधमा आयो ।
बुबा उच्च रक्तचापबाट पीडित भएपछि घरको सम्पूर्ण व्यवहार सम्हाल्ने जिम्मेवारी पनि उनकै काँधमा थपियो । बुबाको उपचार गराउनेदेखि घरका विभिन्न कार्जे उतार्नेसम्मका काममा उनी सक्रिय हुन थाले । यही जिम्मेवारीले उनलाई किशोरावस्थामै व्यावहारिक बनायो । चार बिघा जमिन भए पनि बुबाआमाको सम्पत्तिको भरमा जीवन बिताउने उनको सोच थिएन ।
परिवारको जिम्मेवारीसँगै समाजप्रतिको दायित्वबोध पनि उनमा बढ्दै गयो । बुबाको उपचार र घरव्यवहार सम्हालिरहेका उनी विस्तारै सामाजिक गतिविधिमा समेत सहभागी हुन थाले । समाजमा कसैलाई दुःख पर्दा सहयोग गर्नुपर्छ भन्ने भावनाले उनलाई सानैदेखि प्रेरित गरिरहेको थियो । यही भावनाले पछि उनको व्यावसायिक पहिचानसँगै सामाजिक व्यक्तित्वलाई पनि स्थापित गरायो ।
सरकारी जागिरको सम्भावना कमजोर देखेपछि उनले व्यापार गर्ने अठोट गरे । यही क्रममा एक ज्योतिषीले ‘पहेँलो धातुको व्यवसाय राम्रो हुन्छ’ भनेपछि उनको मन सुनचाँदी व्यवसायतर्फ आकर्षित भयो ।
“ब्राह्मण परिवारमा जन्मिएका र गुरुकुलमा पढेका युवकले सुन पसल खोल्ने निर्णय गर्दा परिवार र आफन्त कसैले समर्थन गरेनन् । धेरैले ‘यो त कामीले गर्ने पेसा हो’ भन्दै उनलाई रोक्न खोजे ।”
“परिवार र समाजको यस्तो सोचले आफूलाई निराश बनाए पनि निर्णयबाट पछि नहटेको उनी बताउँछन् । उनका अनुसार, त्यतिबेला सुनचाँदी व्यवसायमा प्रवेश गर्नु उनका लागि आर्थिक चुनौतीसँगै सामाजिक मान्यताविरुद्ध उभिनुपर्ने विषय पनि थियो । त्यतिबेला झापाभरि ब्राह्मण समुदायका चार–पाँचवटा मात्र सुन पसल थिए ।
“गाउँभरि विदेश जाने लहर चलिरहेको थियो । तर टिकारामले गाउँमै केही गर्ने अठोट लिए । ‘विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच थियो,’ उनी भन्छन्, ‘पैसा नभए पनि केही गर्ने हुटहुटीले मलाई व्यवसायमा तान्यो । परिवार र आफन्तको सहयोग तथा समर्थनबिनै सुन पसल खोल्ने सोच बनाएका उनलाई व्यवसाय सञ्चालन गर्न ठूलो रकम आवश्यक थियो । बुबाले समेत पैसा नदिने बताएपछि उनले आफ्नो अंशबाट भए पनि दिनुपर्ने भन्दै जिद्दी गरे । उनको जिद्दीका अगाडि बुबाको केही लागेन । अन्ततः बुबाले चार लाख रुपैयाँ दिने निर्णय गर्नु भयो, उनले भने । तर घरमा जम्मा तीन लाख १० हजार रुपैयाँ मात्र थियो । बाँकी रकममध्ये ९० हजार रुपैयाँ कतै कर्जा लगाइएको थियो । बुबाले उक्त रकम उठाएर लैजान भनेपछि उनले त्यही पैसाबाट पसल सञ्चालन गर्ने निधो गरे ।
उनी सुरुङ्गा बजारमा कोठा खोज्न पुगे त्यतिबेला पाँच सय रुपैयाँमा पाइने सटरसमेत कसैले उनलाई भाडामा दिन मानेनन् । अन्ततः मासिक एक हजार रुपैयाँ भाडा तिर्ने गरी एउटा सटर लिएर भदौ महिनामा बुबाको मन्त्रपाठसँगै ‘शिवशंकर ज्वेलर्स’को शुभारम्भ भयो ।

व्यवसाय सुरु गर्दा उनलाई सुन कहाँ किन्ने, कति क्यारेटको हुन्छ, तोलामा कति लाल हुन्छ र कालीगढ कहाँ पाइन्छ भन्ने केही पनि थाहा थिएन । उनका लागि सुन र पित्तल उस्तै देखिन्थे। उनी उर्लाबारीस्थित एउटा सुन पसलमा पुगेर चार तोला सुन र आवश्यक सामग्री किनेर ल्याए । बिर्तामोडबाट पहिलो सेप किनेर काम सुरु गरे। तर व्यवसायमा प्रवेश गरेपछि पनि उनलाई अरू व्यवसायीबाट खासै सहयोग मिलेन ।
पहिलो छ महिनासम्म दिनमा एउटा सानो फुली बेच्नसमेत कठिन हुन्थ्यो । तीन वर्षसम्म आफन्त र छिमेकीहरू उनको पसलमा सामान किन्न आएनन् । पसलको भाडा तिर्नसमेत धौधौ पथ्र्यो। पैसाको अभाव भएपछि उनले पसलनजिकैका मारवाडी समुदायका महिलाबाट मासिक तीन रुपैयाँ प्रतिशय ब्याजमा पैसा चलाए । चेलीबेटीबाट समेत ब्याजमा रकम लिएर कारोबार टिकाए ।
सुन खरिद गर्न धरान जानुपथ्र्यो । धरान आउजाउ गर्न ८० रुपैयाँ भाडा लाग्थ्यो। बिहान डाँफे बस चढेर धरान पुग्ने, कारोबार गर्ने र राति ९–१० बजेसम्ममा सुरुङ्गा फर्केर पसल खोल्ने उनको नियमित दिनचर्या थियो । त्यसबेला सुरुङ्गासम्मको यात्रा उनको साइकलकै भरमा हुन्थ्यो ।
बुबाले लगाएको ९० हजार रुपैयाँ कर्जा उठाउन उनी निरन्तर लागिरहेका थिए । करिब दुई वर्षसम्म पनि पैसा नउठेपछि उनले थप १५ हजार रुपैयाँ जुटाएर तिनै ऋणीसँग एक लाख पाँच हजार रुपैयाँमा सुजुकी मोटरसाइकल लिए। ‘त्यसपछि यात्रामा केही सहज भयो,’ उनी सम्झन्छन् ।
त्यो समय पाँच रुपैयाँको खाजा खानसमेत नसक्दा कतिपय दिन पानी मात्रै पिएर दिनभरि पसलमा बसेका दिनहरू उनी आज पनि सम्झिन्छन् । त्यही समयमा देश माओवादी द्वन्द्व र संकटकालबाट गुज्रिरहेको थियो। नेपाल बैंकले सुनको कारोबार गर्दैनथ्यो । सुरुमा उर्लाबारीबाट २४ प्रतिशतसम्म ब्याज तिरेर सुन ल्याउँदा नाफा नगन्य हुन्थ्यो। पछि धरानको शाक्य भण्डारसँग कारोबार सुरु गरेपछि केही राहत मिल्यो ।
हरेक शुक्रबार धरान जाने उनको दिनचर्याले पछि सुरुङ्गा बजारमा शुक्रबार सुन पसल बन्द हुने परम्पराको समेत सुरुवात गराएको उनी सम्झन्छन्। व्यवसायको सुरुवाती दिनमा उनले आर्थिक अभाव मात्र होइन, सामाजिक अविश्वास र विभेदको सामना पनि गर्नुप¥यो ।
“ग्राहकले ‘के थरी ?’ भनेर सोध्दा ‘बराल’ भन्ने उनको जवाफ सुनेपछि कतिपयले ‘बराइली?’ भनेर दोहो¥याउँथे । कतिपयले बाहिरै ‘कति राम्रो रहेछ कामीको छोरो’ भनेर कानेखुसी गर्थे ।”
‘त्यतिबेला जातका आधारमा मानिसलाई हेर्ने सोच बलियो थियो,’ उनी भन्छन्, ‘तर मैले कसैको व्यवहारका कारण आफ्नो पेसा छाडिनँ । सबै मानिसलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेँ।’
व्यवसायमा केही सुधार हुँदै गए पनि सटरसम्बन्धी समस्या भने हटेन । पहिलो घरबेटीले आफैँ सुन पसल खोलेपछि उनलाई सटर खाली गर्न दबाब दिए । बाध्य भएर उनले दुई घर माथि अर्को सटर लिए । त्यहाँ पनि काम गर्दा आवाज आउँछ भन्दै कचकच सुरु भयो ।
त्यसपछि आफ्नै घर बनाउने सोच आयो। सुरुङ्गा बजारमा साढे ११ लाख रुपैयाँमा एउटा घर बिक्रीमा थियो । तर उनीसँग डेढ लाख रुपैयाँसमेत थिएन । तैपनि इमानदारीमाथिको विश्वासका कारण धरानका ती साहुले उनलाई नौ लाख ५० हजार रुपैयाँ ऋण दिए । त्यसपछि जामुनबारी र सुरुङ्गाको जग्गा धितो राखेर वाणिज्य बैंकबाट थप १५–१६ लाख रुपैयाँ ऋण लिए । डेढ वर्षको मेहनतपछि घर बन्यो र केही वर्षपछि उनले आफ्नै भवनमा पसल सारे ।
पसल सार्दा केही पुराना ग्राहक छुटे । तर उनको व्यवहार र विश्वासले ती ग्राहकहरू फेरि फर्किए । यसले उनलाई व्यवसायमा ग्राहकको विश्वास नै सबैभन्दा ठूलो पूँजी हो भन्ने पाठ सिकायो ।
२०५६ सालमा उनले व्यापार सुरु गर्दा सुरुङ्गामा करिब १२ वटा सुन पसल थिए । आज तीमध्ये ‘शिवशंकर ज्वेलर्स’ र ‘कनकाई शिव ज्वेलर्स’ मात्र टिकेका छन् । बरालका अनुसार त्यसपछि दर्जनौँ पसल खुले, तर धेरैजसो बन्द भए । उनी यसको मुख्य कारण ग्राहकको विश्वास गुम्नु, गलत लगानी, कुलत, क्यासिनोको लत र आर्थिक अनुशासनको अभावलाई मान्छन् । ‘सुन पसल विश्वासमा चल्छ,’ उनी भन्छन्, ‘विश्वास गुमेपछि व्यवसाय पनि गुम्छ ।’
व्यवसायसँगै सामाजिक नेतृत्वमा पनि उनको सक्रियता बढ्दै गयो । कनकाई उद्योग वाणिज्य संघमा मनोनित सदस्यका रूपमा प्रवेश गरेका उनी पछि सचिव र उपाध्यक्ष बने । सुनचाँदी व्यवसायी संघ कनकाई उपशाखा दर्ता गराउन बिर्तामोड जाने पहिलो व्यक्ति पनि उनी नै थिए । उक्त संस्थामा संस्थापक कोषाध्यक्ष, तीन कार्यकाल सचिव र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका बराल अहिले वरिष्ठ सल्लाहकारका रूपमा सक्रिय छन् । बराल वंश प्रतिष्ठान झापालगायत विभिन्न संस्थामा पनि उनको सक्रिय सहभागिता छ ।
व्यवसायबाट स्थापित हुँदै गएपछि सामाजिक सेवामा उनले पु¥याएको योगदान पनि उल्लेखनीय छ । कनकाई उद्योग वाणिज्य संघको भवन निर्माणदेखि संघको मण्डप निर्माणसम्म उनले आर्थिक सहयोग गरेका छन् । कनकाई नगरपालिकाका विभिन्न मठमन्दिर निर्माण, पुराण सञ्चालन, सामुदायिक भवन निर्माणजस्ता सामाजिक तथा धार्मिक कार्यमा उनको सहयोग रहँदै आएको छ ।
त्यस्तै वृद्धाश्रम, बालआश्रम, बाढीपीडित र आगलागीपीडितलाई सहयोग गर्नेदेखि समाजमा कोही बिरामी पर्दा उपचारका लागि आर्थिक सहयोग गर्नेसम्मका काममा उनी अग्रसर हुने गरेका छन् । विपत्तिमा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उनी ठान्छन्। व्यवसायमा संघर्षका कठिन दिनहरू भोगेका कारण पनि अभाव र समस्यामा परेका मानिसको पीडा आफूले नजिकबाट बुझ्ने गरेको उनको अनुभव छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सकेको सहयोग गर्ने उनको स्वभावले उनलाई व्यवसायीका रूपमा मात्र नभई सामाजिक सेवामा समर्पित व्यक्तिका रूपमा पनि परिचित गराएको छ ।
उनले व्यापार सुरु गर्दा प्रतितोला सुनको मूल्य सात हजार आठ सय रुपैयाँ थियो । आज त्यो मूल्य तीन लाख ३८ हजार रुपैयाँसम्म पुगिसकेको छ । चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँबाट सात हजार तीन सय रुपैयाँ पुगेको उतारचढाव पनि उनले प्रत्यक्ष अनुभव गरेका छन् ।
‘इज्जतभन्दा ठूलो कुरा पैसा होइन, सम्पत्ति त हातको मैलो हो,’ उनी भन्छन् । आजसम्म उनले कुनै ऋणको भाका नाघेका छैनन् । पैसाको अभाव हुँदा पनि क्याम्पस, मन्दिर, पुराण र सामाजिक काममा सहयोग गर्न पछि हटेका छैनन् । उनको अनुभवमा व्यवसायको सबैभन्दा ठूलो पूँजी कमाइ होइन, बचत हो । सुरुदेखि नै विलासितामा नभई आवश्यकतामा खर्च गर्न सके व्यवसाय टिक्ने उनको बुझाइ छ । रातारात धनी बन्ने लोभ, कुलत र अविवेकी खर्चका कारण धेरै व्यवसायी धराशायी भएको उनले आफ्नै आँखाले देखेका छन् ।
सुन र पित्तल छुट्याउन नसक्ने एक युवा आज झापाका सफल, इमानदार र सम्मानित व्यवसायीका रूपमा स्थापित हुनुको आधार कुनै चमत्कार होइन—निरन्तर मेहनत, विश्वास र हार नमान्ने साहस हो । पारिवारिक जिम्मेवारीले सानै उमेरमा थिचिए पनि उनले त्यसलाई आफ्नो कमजोरी बन्न दिएनन् । अभाव र अविश्वासको सामना गर्दै व्यवसायमा स्थापित भएका उनले सामाजिक सेवामार्फत पनि समाजप्रतिको दायित्व निर्वाह गर्दै आएका छन् । टिकाराम बरालको यो यात्रा केवल एक व्यवसायीको सफलताको कथा होइन, संघर्षलाई अवसरमा बदल्न सकिने र व्यक्तिगत सफलतालाई सामाजिक सेवासँग जोड्न सकिने जीवन्त उदाहरण पनि हो ।

प्रतिकृया दिनुहोस्