मेचीनगर, ७ असार । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीले द्रोणाचार्य क्षेत्री जस्तो व्यक्ति मुलुकलाई आवश्यक रहेको बताएका छन् ।
बुधवार काँकरभिट्टा खानेपानीको सभाहलमा द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले अहिलेको राजनीति विश्लेशन गर्ने अवस्था नरहेको बताए ।
द्रोणाचार्य जस्तो असल र इमानदार व्यक्ति अहिले मुलुकलाई आवश्यक रहेको उनको भनाई छ । उनका अनुसार २०४३ सालदेखिको इतर पार्टीको भएपनि आन्दोलनसँगै हाकेका सहयोद्वा कमरेडबाट धेरै कुरा सिकिरहेको छु ।
‘उहाँ विचारले कम्युनिष्ट पार्टीको होला’, बुढाथोकीले भने–‘तर अरु पार्टीकाहरुले पनि उहाँलाई अंगालो हालेर मिल्ने गरेका थिए । झापाका असल व्यक्ति हुन् । आँखामा राख्दा पनि नबिझाउने जनपक्षिय नेता थिए ।’
कार्यक्रममा द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार पत्रकार गणेश पोखरेललाई प्रदान गरिएको थियो भने प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रमणि पौडेल र विनोदप्रसाद पोखरेललाई सम्मान गरियो ।
कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सदस्य बसन्त बानियाँ, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, नेपाली कांग्रेसका युवा नेता पुष्पराज पौडेल, सम्मानित व्यक्तित्व पत्रकार गणेश पोखरेल, द्रोणाचार्य क्षेत्रीका छोरा देवेन्द्र आचार्य लगायतले द्रोणाचार्यका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रतिष्ठानका महासचिव जीवनकुमार श्रेष्ठले प्रकाश पारेका थिए ।
द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष रविन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदालले र सञ्चालन प्रतिष्ठानका सदस्य सन्तोष आचार्यले गरेका थिए ।
प्रतिकृया दिनुहोस्