सांसद बजगाईको पहलमा ९ करोड बढीको बजेट

2023-07-08 मा प्रकाशित

मेचीनगर, २३ असार । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सबिना बजगाईको पहलमा झापा निर्वाचन क्षेत्र १ (ख)मा ९ करोड भन्दा बढी रकमको योजना परेको छ । यस निर्वाचन क्षेत्र सांसद बजगाईको आफ्नै निर्वाचन क्षेत्र हो । जसमा प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयबाट आवश्यक्ता र प्राथमिकताका आधारमा आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ९ करोड २७ लाख ५६ हजार रकम बराबरको योजना पार्न उनी सफल भएकी हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ७२ लाख, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट २ करोड २६ लाख ५० हजार, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट १ करोड २५ लाख रकम बराबरका योजना आफ्नो निर्वाचन क्षेत्रमा पार्न उनी सफल भएकी आज पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद बजगाइँ स्वयमको उपस्थितीमा जानकारी दिइएको हो ।

यसैगरी सशर्त अनुदान अन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ६० लाख बराबरको योजना परेको छ भने सामाजिक विकास मन्त्रालयबाट २८ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १ करोड १६ लाख ५६ हजार बराबरको योजना यस निर्वाचन क्षेत्रमा परेको छ । स्थानीय निकायका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरुसँग आवश्यक योजनाहरुका बारेमा छलफल गरी प्राथमिकताका आधारमा यस योजनाहरु पारिएको आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद बजगाईले बताइन् ।

‘हामीले आवश्यक योजनाका बारेमा सबैसँग छलफल गरेर प्राथमिकताका आधारमा यस योजनाहरु छनोट गरेका हौँ, अब योजना परेको छ यसलाई कार्यान्वयन गर्ने कुरामा हामी सँधै सक्रिय भएर लाग्नेछौँ,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन् । अलग धारको राजनीतिक अभ्यासमा सक्रिय रहेको पार्टीबाट आफु निर्वाचित भएकाले आफुले पनि समाजमा पृथक किसिमको काम गर्न खोजेको उनको भनाई थियो ।

प्रदेशमा सरकार निर्माणको अन्योलता झनझन बढेको देखिन्छ, योजना छुट्टिएको छ तर यी सबै योजना कार्यान्वयन हुन्छन् त ? भन्ने संचारकर्मीको प्रश्नमा उनले योजना कार्यान्वयनका लागि आफु सँधै खबरदारी गर्ने बताइन् । ‘योजना पार्नु मात्रै नभएर कार्यान्यन गर्नु पनि हाम्रो जिम्मेवारी हो, जसलाई हामी भुल्ने छैनौँ,’ उनले भनिन् । प्रदेश सरकारबाट परेको यस योजनाहरु सांसद विकास कोष मार्फत नभइ प्रदेश सरकारको नियमित बजेटबाट प्राप्त भएको समेत उनले जानकारी दिएकी छिन् । पत्रकार सम्मेलनमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु