बाहुनडाँगीमा धार्मिक मेलाको तयारी

2023-08-08 मा प्रकाशित

मेचीनगर । धार्मिक तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगरको बाहुनडाँगी स्थित हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ ।

नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले सोमबार पत्रकारसँगको कुराकानीमा जानकारी गराएका छन्।

स्थानीय क्षेत्रमा प्रकट भएको ऐतिहासिक भूमिलाई विकास गर्दै धार्मिक क्षेत्रको गौरव र गन्तव्य स्थलको रुपमा देश विदेशमा परिचित गराउने उद्देश्य लिएर कार्यक्रमको आयोजना गरिएको महेन्द्र मल्लले बताए ।

मनसा नागदेवी ४९ धारा व्यवस्थापन समितिको आयोजनामा भदौ २ गतेदेखि ४ गतेसम्म सांस्कृतिक, धार्मिक तथा परम्परागत लगायतका विविध कार्यक्रम गरिने अध्यक्ष मल्लको भनाई छ । कार्यक्रमका लागि विभिन्न उपसमिति बनाएर जिम्मेवारी दिइएको छ ।

कार्यक्रम अन्तरगत पहिलो दिन विभिन्न विद्यालयका विद्यार्थीबाट सांस्कृतिक कला प्रदर्शनी गर्ने कार्यक्रम तय गरिएको छ भने दोस्रो दिन राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारको प्रस्तुति तथा तेस्रो दिन धार्मिक मेला र भजन कीर्तन प्रतियोगिताको तयारी गरेको छ । युवा पण्डित प्रशान्त न्यौपानेको मुखारविन्दबाट आध्यात्मिक कथा प्रवचन हुनेछ ।

मनसा नागदेवीको मन्दिरसँगै ४९ वटा धारा निर्माण गरिएको छ । धर्मसँगै पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन गौरवको योजना ल्याएको जग्गादाता एवं पूर्व जनप्रतिनिधि डिकेन्द्र थापाले जानकारी दिए ।

नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउँदै ‘संरक्षणमा जुट्नुपर्छ’ भन्ने भावनाको विकास गर्न पर्यटकीय स्थलालाई मेचीनगरकै उच्च बनाउने मेचीनगर १ का वडाअध्यक्ष रामकुमार राईले बताए । कार्यक्रम सफल बनाउन वडाको तर्फबाट सम्पूर्ण सहयोग गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु