‘कट्टेलको झापा बिद्रोह ‘२०२८’ पुस्तकको समिक्षा

2023-09-03 मा प्रकाशित

मेचीनगर  । युवा लेखक निरोज कट्टेलद्वारा हालै प्रकाशित झापा विद्रोहको अन्तरकथा ‘२०२८, नामक पुस्तकको शनिवार एक कार्यक्रमकाबीच समिक्षा गरिएको छ । पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विद्रोहलाई बुझ्न सहज बनाइदिएको विश्लेषकहरुले बताएका छन्। कार्यक्रममा बोल्दै अधिवक्ता एवम् बाम राजनीतिज्ञ लीला उदासीले पुस्तकमा झापा विद्रोहका तथ्यहरुलाई मसिनो गरी समेटिएको बताए ।

‘झापा विद्रोह सही थियो कि गलत भन्ने कुरा आआफ्नो बुझाई र आस्थाको कुरा हो,’उनले भने–‘नेपाली राजनीतिलाई नयाँ मोड दिएको यो आन्दोलनको उठान भएका बेलाको बस्तुगत परिस्थिति, घटना, पात्र, चरित्र, नीति र परिणामका बारेमा किताबमा लेखकले गहन खोज गर्नुभएको पाएँ ।’

उदासी आफु पनि झापा विद्रोहको अभियन्ता भए तापनि वर्गशत्रु खत्तमको हिंसात्मक आन्दोलनको स्वरुपसँग कहिल्यै सहमत नभएको र विद्रोहको थालनीका बेला झापाली थुप्रै नेताहरु व्यक्ति हत्याको राजनीतिमा संलग्न नरहेको बताए ।

अर्का वक्ता एवम् लेखक भवानी क्षेत्रीले आफुले झापा विद्रोहका बारेमा केही पनि लेख्न नसकेकोमा आफैमाथि प्रश्न गरिरहेको बताइन । कट्टेलको किताबमा इतिहासको एउटा कालखण्डको उजागर गरिएको बताए । उनले विद्रोहमा महिला पात्रहरुको भूमिका र उनीहरुको योगदानका बारेमा कहिँ कतै चर्चा नभएको गुनासो गरिन् ।

किताबका लेखक निरोज कट्टेलले झापा विद्रोह सही थियो कि गलत भन्ने आफुले नखोजेको र घटना चाहिँ के भएको थियो भन्ने बारेमा अन्वेषण गरेको बताए ।

वि.सं. २०२१ सालमा पञ्चायती सरकारले भूराजनीतिक दवावका कारण भूमिसुधार कानून लागू गरेको र नेपालमा बढ्दो चिनियाँ क्रान्तिको प्रभाव रोक्न त्यसो गरिएको उनले बताए ।

कार्यक्रमको सहजिकरण रिडर्स झापाका सदस्य सागर शिवाकोटीले गरेका थिए । सो अवसरमा रामचन्द्र उप्रेती, दुर्गाप्रसाद सापकोटा, कविन्द्र श्रेष्ठ, दामोदर ढुंगेल, लक्ष्मीप्रसाद उप्रेती, मोहन काजी, नवराज सुबेदी, पूजा सापकोटा, केदार ढकाल लगायतले वक्ताहरुलाई किताब र राजनीतिका विषयमा विभिन्न प्रश्न सोधेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु