खोज पत्रकारिताले भ्रष्टाचार र बेथिति अन्त्य गर्ने छ : अध्यक्ष थेवेले

2024-02-24 मा प्रकाशित

नयाँबजार । इलामको माईजोगमाई गाँउपालिकाको केन्द्र नयाँबजारमा खोज पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ इलामको आयोजना साथै माईजोगमाई गाउँपालिकाको सहयोगमा ४ दिने खोज पत्रकारिता तालिम सुरु भएको हो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लब भट्टराई र प्रमुख अतिथी माईजोगमाई गाँउपालिकाका अध्यक्ष कुश बहादुर थेवे रहेका थिए । विशेष अतिथी माईजोगमाई गाँउपालिका उपाध्यक्ष प्रविना राई निमित्त प्रमुख प्रशासकिय अधिकृत गोकुल संजेल , नेपाल पत्रकार महासंघ इलामकी निवर्तमान अध्यक्ष कोकिला ढकाल रहेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष थेवेले खोज पत्रकारिताले भ्रष्टाचार र बेथिति अन्त्य गर्ने बताएका छन् । उनले समाज रुपान्तरण्णमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै माई जोगमाई गाउँपालिकाको पर्यटकीय प्रवद्र्धनमा कलम चलाउन आग्रह गरे । विभिन्न जात जातिको बसोबास रहेको यो क्षेत्रमा धार्मिक सामाजिक सद्भाव रहेको र यो क्षेत्रमा नरिवल , धान फल्ने देखि लिएर हिउँ पर्ने सम्म भू(भाग रहेको र कृषि तथा पर्यटनमा धेरै संभावना बोकेको पालिकामा प्रचार प्रसारको कमि रहेको बताए।

माईजोगमाईमा उत्पादन हुने कुचो , दूध , अलैंची , चिया , कफि , सुन्तलाको बजारिकरणमा ध्यान दिदै हरेक क्षेत्रमा जोड दिएको बताए । जनता , विद्यार्थीहरु लगायत सँग नियमित रुपमा समस्याको बारेमा संगै बसेर निरन्तर छलफलमा जुटिरहेको अध्यक्ष थेवेले बताए ।

खोज पत्रकारिता तालिम लिएर माईजोगमाई गाउँपालिकालाई पनि देश सामु चिनाउन पत्रकारहरुले महत्त्वपूर्ण भूमिका खेल्ने समेत अपेक्षा रहेको उनले बताए । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष प्रविना राईले पर्यटनको प्रचुर संभावना बोकेको यो पालिकालाई प्रचारको कमि रहेको र खोज पत्रकारिता तालिमले प्रचारप्रसारमा टेवा पुग्ने बताइन्।

उनले पालिकामा आएर एक सेल्फी मात्र लिएर भएपनि सामाजिक संजालमा हालेर थप पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भएकाले सेल्फी खिचेर जान पत्रकारहरुलाई आग्रह गरिन् । नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लभ भट्टराईले कार्यक्रममा बोल्दै सामाजिक संजाल लगायतका माध्यमबाट आम संचार ओझेलमा पर्दै गएपनी सत्य तथ्य विषयको उठान र सामाजिक रुपान्तरणका लागि आम संचार अझै जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

४ दिने खोज पत्रकारिता तालिमले पत्रकारहरुलाई थप सहयोग पुग्ने बताए । पूर्व पत्रकार तथा माईजोगमाई गाउँपालिकाका राजश्व तथा सहकारी प्रमुख अशोक लिम्बुले पालिकाको हाल सम्मको पालिका विवरण समेत प्रस्तुत गरेका थिए । ४ दिन सम्म संचालन हुने पत्रकारिता तालिममा झापा , पाँचथर र इलामका गरेर २५ भन्दा धेरै पत्रकारहरु सहभागी रहेका छन ।

खोज पत्रकारिता तालिमको प्रशिक्षण अनलाइन खबरका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँले गर्नेछन् । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ इलामका सचीव भिम चापागाईंले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु