2024-03-19 मा प्रकाशित

झापा, ६ चैत । अन्तर–पुस्ता महिला मञ्चले महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्याउनु पर्ने उद्घोषका साथ आज पूर्वीनाका काँकरभिट्टाबाट ‘देशब्यापी महिलाबादी बसयात्रा’ सुरु गरेको छ ।
महिलालाई राज्यको निर्णायक तहमा पुर्याउन देशब्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चको केन्द्रीय सञ्चालक समितिकी संयोजक डा. सुशान्त रिसालले बताइन ।
उनले परमुखी विकासको कुलो फर्काउनु पर्ने र महिलालाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिदै त्यसका लागि लैंगिक विभेदका विरुद्ध सबै मोर्चामा संघर्ष गर्नु पर्ने बताइन्
कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले पितृसत्तात्मक विभेद र थिचोमिचोविरुद्ध महिलाहरुले साझा दृष्टिकोण बनाएर लड्न आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
उनले महिलालाई उपप्रमुख, उपाध्यक्ष, उपसभामुख र उपप्रधानमन्त्री र उपराष्ट्रपति जस्ता दोस्रो तहको नेतृत्वमा सीमित गराइएको भन्दै पार्टी र राज्यको पहिलो नेतृत्व तहमै पुग्न सबैले जोडबल गर्नुपर्ने बताइन्
बसयात्रा उद्घाटन कार्यक्रमको संयोजन गरिरहेको महिला जनचेतना केन्द्र झापाकी अध्यक्ष सीता गुरुङका अनुसार महिलाबादी अभियन्ताहरुले बसयात्रा क्रममा मुलुकका विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्नेछन् । अभियन्ताहरु चढेको बस झापा, मोरङ, सुनसरी र सप्तरी छिचोलेर आजै साँझ सिराहाको लहान पुगेर बास बस्ने जानकारी दिइन् ।
चैत ६ गते काँकरभिट्टाबाट सुरु भएको बसयात्रा अभियान अन्तर्गत चैत ७ गते लहान र ८ गते चन्द्रनिगाहपुरमा पुगेर विशेष कार्यक्रमको आयोजना हुने बताइएको छ । पश्चिमको कञ्चनपुरबाट चैत ५ गते सुरु भएको अभियानले आज कैलालीको गुलरियामा, चैत ७ गते दाङ र ८ गते भैरहवामा अन्तरक्रिया कार्यक्रम गर्ने अभियानकी सदस्य चिङलामु शेर्पाले जानकारी दिइन् ।
कार्यक्रममा महिला अधिकारकर्मी मीरा काफ्लेले जागरण गीत गाएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु