भेनियर निर्यातको सहज वातावरण बनाउन व्यवशायीको माग

2024-03-19 मा प्रकाशित

नेपालमा उत्पादन भएको भेनियरलाई भारत लगायत तेस्रो मुलुक निर्यातका लागि वातावरण बनाइदिन व्यवशायीहरुले सरकारसंग माग गरेका छन । नेपाल भेनियर उत्पादक संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष दिपक पाण्डेले नेपालमा खपत भएको भन्दा बढी भेनियरलाई भारतसहित तेस्रो मुलुक निर्यातमा सहज हुदा सरकारलाई राजस्व आउनुका साथै व्यापार घाटालाई समेत कम गर्न सकिने बताउनु भयो ।

‘नेपालका प्लाउड कम्पनीहरुले आफैंले भेनियर उद्योगको काम समेत गरिरहेका छन,’ अध्यक्ष पाण्डेले भन्नुभयो, ‘त्यसका कारण भेनियर उद्योगहरु धराशायी भएर व्यवशायीहरु नै पलायनको अवस्थामा पुगेका छौं ।’ केही समय अघि झापामा मात्रै ३८ वटा भेनियर उद्योग सञ्चालनमा रहेको भए पनि अहिले २८ वटा मात्र उद्योगले उत्पादन गरिरहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।

प्लाईउड उद्योगहरुले भेनियरको समेत काम गरेर भेनियर उद्योगहरुलाई धराशायी बनाउन खोज्नु दुखद भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र कुमार खड्काले पत्रकार सम्मेलनमा बताउनु भयो । ‘प्लाईउड उद्योगीले आफ्नो खुट्टामा आफैं बन्चरो हान्दैछन,’ खड्काले भन्नुभयो, ‘उहाँहरुलाई नै अप्ठ्यारो पर्ने काम गर्दै हुनुहुन्छ ।’ प्लाइउडमा सरकारले दिएको सहुलियतको व्यवशायीहरुले गलत रुपमा प्रयोग गरेको खड्काले बताउनुभयो ।

भारत निकासी गर्दा अहिले सरकारले लिईरहेको प्रतिकिलो ६ रुपैयालाई घटाएर ३ रुपैया बनाउन पनि भेनियर व्यवशायीहरुले माग गरेका छन । पत्रकार सम्मेलनमा बोल्दै भेनियर उत्पादक संघका बरिष्ठ उपाध्यक्ष श्याम कुमार न्यौपानेले भन्नुभयो, ‘नेपाली उत्पादन भारत निकासी गरिरहेकाहरुलाई सरकारले प्रोत्साहन गर्नु पर्नेमा उल्टै बढी कर लगाएर समस्या बनाएको छ ।’

नेपालका प्लाईउड उद्योगहरुले २० देखि २५ प्रतिशत भेनियर मात्रै बाहिरबाट किन्ने गरेकाले आफुहरुले उत्पादन गरेको भेनियर बाध्य भएर भारतमा बेच्नु परेको भेनियर उत्पादक व्यवशायीहरुले बताएका छन । भेनियर उत्पादनका लागि वैन पैदावर आवश्यक पर्ने र प्लाईउड बनाउन भेनियर आवश्यक पर्ने भएकाले भेनियर बढी उत्पादन हुँदा वन पैदावर सकिन्छ भन्ने प्लाईउड व्यवशायीको कुरा तथ्यहिन भएको वैन पैदावर व्यवशायी संघ इलामका अध्यक्ष रोहित खड्काले पत्रकार सम्मेलनमा बताउनु भयो ।

भेनियर व्यवशायीहरुले झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्र समेत पत्रकार सम्मेलनमा सार्वजनिक गर्नु भएको थियो । प्लाईउड निर्यात गर्दा सरकारले सहुलियत दिए पनि प्लाईउडकै कच्चा पदार्थका रुपमा रहेको भेनियरलाई भने निर्यात गर्दा प्रतिकिलो ६ रुपैयाका दरले सरकारले चर्को कर लगाइरहेको छ ।

मेची उद्योग वाणिज्य संघको सभाकक्ष धुलाबारीमा आयोजित पत्रकार सम्मेलनको सहजिकरण भेनियर उत्पादक संघका महासचिव दिनेश शाक्यले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु