बाहुनडाँगी । मेचीनगर– २ का वडाध्यक्ष दीपक बराललाई शुक्रबार वडानम्बर –२ का बिभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको प्रश्नको घेरामा परे । उनीहरुले आफना विद्यालयमा भएका अभाव र भोग्नु परेका पीडा सुनाए । बाहुनडाँगी जेसीजले विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रम राखेकै कारण विद्यार्थीहरुले वडाध्यक्षलाई आफ्नो विद्यालयको अवस्थाको बारेमा समस्या राख्ने र त्यसको समाधानमा वडाले के गर्छ भनेर सोधेका थिए ।
उनीहरुले पानी चुहिने छानो मुनि बसेर पर्दाको पीडा, स्मार्ट बोर्डको अभाव, विद्यालयमा शैक्षिक तथा खेल सामग्रीको अभाव, विज्ञापन प्रयोगशालामा सामाग्रीको अभाव, खानेपानी तथा शौचालयको समस्या लगायत थुप्रै समस्या राखेका थिए । विद्यार्थीको प्रश्नले वडाध्यक्ष तथा सहभागिहरु गम्भीर बनेका थिए ।
विद्यार्थीहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै वडा अध्यक्ष बरालले वडाको तहबाट गर्न सकिने कुरा तत्काल पुरा गर्ने र अन्य बिषय नगरपालिकाको बोर्ड बैठकमा राखेर छलफल गरी समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाएका थिए । ‘विद्यालयको खेलकुदका सामग्री वडा कार्यालयले खरिद गरिसकेको र केही दिनमा नै विद्यालयलाई उपलब्ध गराउँछौं,’ विद्यार्थीको प्रश्नको उत्तर दिदैं वडा अध्यक्ष बरालले भने , ‘केही बिषयहरु वडा कार्यालयबाट गर्न नसक्ने भएकाले नगरपालिकाको बोर्ड बैठकबाट समास्या समाधानका लागि पहल गर्छु ।’
‘मैले निर्वाचनका बेला सर्वजनिक गरेको ४७ बुँदाको प्रतिबद्धताका काम पुरा गरिसकेको छु,’ कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले भने , ‘अब थप काम गर्ने गरी योजना बनाएको छु ।’ आफुले वडाबासीको कामलाई प्राथमिकतामा राखेको तर स्टन्ड नगरेको उनको भनाइ थियो।
कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यालयको छाना चुहिने समस्याको समाधानका लागि काम शुरु गरेको र केही समयमा सबै विद्यालयका चुहिने छाना फेरिनेबताए। उनले नगरको बजेट अभावका कारण आम जनताले उठाएका धेरै काम गर्न नसकेको बताए ।
बाहुँनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा भानु माविका प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला लगायतले विद्यार्थी र वडा अध्यक्ष विचको प्रश्नोत्तर कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताएका थिए । पत्रकार प्रकाश पौडेल, भानु माविका सहायक प्रधानाध्याक ज्ञानेन्द्र ढुँगानासहितका शिक्षक, सनसाईन अग्रेजी मावि, पुर्वाञ्चल अँग्रेजी माविका विद्यार्थी र शिक्षकहरुसमेतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव कौशल उप्रेतीको गरेका थिए ।
प्रतिकृया दिनुहोस्