श्रीकृष्ण जन्माष्टमीमा कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो

2024-08-26 मा प्रकाशित

मेचीनगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको मेचीनगरमा रहेको कृष्णथुम्की मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस स्थानमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना गर्ने भक्तजनको घुँइचो लागेको हो ।
हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरू झै यसबर्ष पनि हजारौंको संख्यामा दर्शनार्थी भक्तजनहरूले मन्दिरमा भगवान् कृष्णको पूजा आराधना गरेको कृष्णथुम्की धाम व्यवस्थापन समितिले जनाएको छ ।

धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस मेचीनगर १ मा अवस्थित कृष्णथुम्की मन्दिरमा जन्माष्टमीको अवसरमा नेपालको विभिन्न क्षेत्रसंगै भारतलगायतबाट समेत भक्तजनहरू पूजा आराधना गर्न आउने गरेको स्थानीय दिपेश खड्का बताउँछन् । आफुले पनि लामो लाइन छिचोल्दै दर्शन गर्न सफल भएको बताए ।

द्वापर युगमा लुवासुर राक्षस र सप्तसुर राजाहरु बिच खटपट भई युद्ध हुँदा भगवान् कृष्णले कृष्णथुम्कीमा आई पाइला राख्दै हेरेको किम्बदन्ती छ । सोही कारण पूर्वको पवित्र धार्मीक तथा पर्यटकीय स्थलको रुपमा परिचित कृष्णथुम्कीमा भगवान कृष्णको पूजा आराधना गर्न झापा, मोरङ्ग, सुनसरी, इलामलगायत नेपालको विभिन्न जिल्लासंगै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गरेको कृष्णथुम्की धाम व्यवस्थापन समिति अध्यक्ष हिक्मत क्षेत्री बताउँछन् । कृष्ण जन्माष्टमी’ पर्वको अवसरमा आज कृष्णथुम्कीसहित झापा जिल्लाका अन्य कृष्ण मन्दिर र प्रणमी मन्दिरमा भगवान् कृष्णको पूजा–आराधना गर्न दर्शनार्थीहरुको भिड लागेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु