लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने

2024-11-29 मा प्रकाशित

मेचीनगर । हरेक वर्ष झैं यस वर्षपनि लाल भागिरथा बानियाँ प्रतिष्ठानले फरक विद्याका तीन प्रतिभाहरुलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले बिहीबार पुरस्कृत हुने तीन प्रतिभाहरुको नाम समेत सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले बिगत पाँच वर्षदेखि सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने उत्कृष्ट कृषक एक जना र परिवारमा असल संस्कारको नमुना प्रस्तुत गर्ने गृहिणी एक जनालाई वर्षेनी पुरस्कृत गर्दै आएको छ ।
धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले पुरस्कृत हुने तीनै जना प्रतिभाहरुको नाम सार्वजनिक गरे ।
मेचीनगर वडा नं. ५ की अनिताकुमारी कार्कीलाई लाल भागिरथा उत्कृष्ट कृषक पुरस्कार, मेचीनगर वडा नंं ७ का देबेन्द्रकुमार खरेल (देवेन खरेल)लाई लाल भागिरथा राष्ट्रिय प्रतिभा पुरस्कार र बुद्धशान्ति वडा नं. की रेणुका सङ्ग्रौला चापागाई लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गरिने प्रतिष्ठनका अध्यक्ष बानियाँले जानकारी दिए ।
तीन वटै पुरस्कारको नगदराशी रु. ३१ हजार रहेको छ । यही मंसिर २० गते लाल भागिरथा बानियाँ प्रतिष्ठानको छैठौं वार्षिकोत्सवका अवसरमा मेचीनगर वडा नं. ११ मा एक समारोहबीच उहाँहरुलाई पुरस्कृत गरिने भएको छ ।
मेचीनगर नगरपालिका वडा नं. ५ आदर्श टोल निवासी ५७ वर्षीया कार्की केही वर्ष अघि शिक्षण पेशाबाट निवृत्त भइन् । त्यस पछिका दिनहरुमा उनी कृषि कर्ममा होमिएकी छिन् । उनले परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारीलाई व्यावसायिक कृषिमा रुपान्तरण गरेर निवृत्त जीवनको सदुपयोग गर्दै आएकी छिन् । आफ्नो ५ कठ्ठा करेसाबारीमा ओडब्ल्यूडीसी प्रविधिबाट जैविक मल प्रयोग गरी तरकारी, फलफूल र अन्न खेती गर्दै उनी सो क्षेत्रमा नमूना कृषको रुपमा परिचित छिन् ।
अर्का प्रतिभा मेचीनगर नगरपालिका वडा नं. ७ काँकरभिट्टा निवासी ५१ वर्षीय देबेन्द्रकुमार खरेलको मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष हुन् । उनी वाइल्डलाइफ फोटोग्राफर, फोटो पत्रकार र संरक्षणकर्मीको रुपमा परिचित छन् । उनले ३४० प्रकारका चराको खोज र ४७७ प्रकारका चराको तस्वीर खिच्न सफल भएका छन्
त्यसैगरी असल गृहिणीको रुपमा सम्मानित हुनलागेकी संग्रौलाले वृद्धावस्थाका सासु दिलकुमारी चापागाई र ससुरा शिवलाल चापागाईको नियमित उपचार र हेरचाहमा समर्पित भएर लागेकी छिन् । ४३ वर्षीया रेणुका बुद्धशान्ति वडा नं. ५ निवासी हुन् । उनका ससुरा र सासु दुबै जना लामो समयदेखि विरामी छन् भने छोरा समेत शारीरिक अशक्त छन् । यस्तो अवस्थामा उनले शारीरिक अशक्त छोरा र सासुससुराको उपचार र हेरचाहमा कमी आउन नदिएको भन्दै प्रतिष्ठानले उनलाई सम्मन गर्न लागेको आयोजकले जनाएको छ ।
प्रतिष्ठानले ८० वर्षमाथिका दुईजना दम्पत्तिलाई समेत नगदसहित सम्मान गर्ने भएको छ । मेचीनगर–११ का ८६ वर्षीय भिमप्रसाद चापागाई र ८८ वर्षीया विष्णुमाया चापागाई नगद एकहजार २ सयसहित सम्मान गरिने भएको छ ।
यही मंसिर २० गते मेचीनगर–११ स्थित लाल भागिरथा बानियाँ प्रतिष्ठानको छैठौं बार्षिकोत्सवमा तीन जनालाई पुरस्कार प्रदान गरिने भएको हो ।
बार्षिकोत्सवको प्रमुख अतिथिका रुपमा राष्ट्रिय योजना आयोगकी सदस्य एवम् दमक नगरपालिकाकी पूर्व उपमेयर गीता अधिकारी आउने भएकी छन् ।
पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले र सञ्चालन सचिव डम्बर देउजाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु