मेची मासु उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा सम्मान

2025-01-09 मा प्रकाशित

मेचीनगर, । काँकरभिट्टा स्थित मेची मासु उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
काँकरभिट्टा खानेपानीको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले सहकारी भुईमान्छे र गरिवहरुको जिवीकोपार्जनको ‘सञ्जिवनी’ सावित भएको बताए ।

‘सहकारीलाई कालो धन लुकाउने ठाउँ बनाउनु हुँदैन’, मेयर बुढाथोकीले भने–‘गलत ढंगले पैसा राख्ने र निकाल्नेलाई निगरानी गर्नुपर्छ । कानुन अनुसार सहकारीलाई दण्डा होइन, बचाउनतिर लाग्नु पर्छ ।’

सो अवसरमा मेचीनगर सहकारी समन्वय समिति संयोजक वीपी भट्टराईले सरकारले ल्याएको अध्यादेश विरुद्ध सहकारी अभियन्ताहरु लागेको बताए । २ कार्यकाल र १० लाख भन्दा बढी पुँजी राख्न नपाइने नियम सहकारीहरुलाई चित्त नबुझेको उनको भनाइ छ ।

कार्यक्रममा मेची मासु उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईले बजारमा मासुजन्य वस्तु बिक्री गर्ने पसलेहरुले मनपरी ढंगले मुल्य राखेर बिक्री गरिरहेकोले त्यसलाई रोक्न स्थानीय सरकारले पहल गर्नु पर्ने बताए ।

मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाले ५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मेचीनगर–७ का कृष्णकुमार ढुंगाना, विष्णुमाया विश्वकर्मा, मेचीनगर–६ का पदममाया पाठक, मायादेवी उप्रेती र इन्द्रमाया तामाङ रहेका छन् । उनीहरुलाई जनही २ हजार नगद, एक–एक वटा ब्ल्याङ्केट र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी सहकारीले मेचीनगर–६ निवासी राष्ट्रिय तथा अन्तराष्ट्रिय जुनियर फुटबल गोल किपर एवम् प्रशिक्षक मिनबहादुर वस्नेतलाई नगद ५ हजारसहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
सो अवसरमा अध्यक्ष राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले एक वर्षमा मासु मात्र बेचेर ६४ लाख बढी आम्दानी गर्न सफल भएको बताए । संस्थाले सञ्चालन गरेको मेची मिट मार्टबाट २०८०÷०८१ मा १६ हजार ३३५ केजी ५०० ग्राम विभिन्न प्रकारका मासुजन्य वस्तु उत्पादन गरेर बेच्दा ६४ लाख १८ हजार ७६१ रुपैयाँ आम्दानी भएको उल्लेख छ ।
दुई हजार ८५९ शेयर सदस्य रहेको संस्थाको चुक्ता पुँजी १ करोड ४७ लाख ६० हजार १०० र नाफा १३ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । स्वागत उपाध्यक्ष राजकुमार पराजुलीले र सञ्चालन कार्याललय प्रमुख अनिता गुरागाईले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु