
धुलाबारी,२५ फागुन । झापाको धुलाबारीमा रैथाने स्वादको महोत्सव आयोजना हुने भएको छ । यही फागुन २७ र २८ गते स्थानीय चार वटा जनजाति समुदायका खाना र साँस्कृतिक महोत्सव हुने भएको हो । मेचीनगर १० को नन्दा कोरिडोर प्रवर्धन केन्द्रको आयोजनामा ‘रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव’ हुन लागेको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिए । महोत्सवका बारेमा जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा स्थानीय समुदायको रैथान स्वादको प्रवद्र्धन गर्ने र त्यस्ता परिकारलाई व्यवशायीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष खड्काले बताए ।
महोत्सवमा मेचे, राजबंशी, धिमाल र दनुवार जातिको रैथाने परिकार राखिने महोत्सवका स्टल कोर्डिनेटर निरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार हरेक समुदायको चार वटा खानाका परिकारलाई महोत्सवमा प्राथमिकताका साथ राखिने छ ।
मेचे समुदायको याङफारे, फेतो, सिताव र कुकुराको मासु राखिने श्रेष्ठले बताए । त्यस्तै राजबंशीको घुँगी, पेल्का, भाक्का र माछाको झोल राख्दा दनुवार समुदायको तोल, ग्यान्द्रो, चिचिरी र सुँगुरको परिकार राखिने छ । महोत्सवमा दनुवार समुदायको केराको बुङ्गोको अचार, गंगाटाको अचार, पिठोको रोटी, न्वागी अर्थात खीर राखिने छ । त्यस बाहेक पनि स्थानीय शान्ति समाजको महिला समूहले साहाकारी खानेकुरा पनि महोत्सवमा राख्ने श्रेष्ठले बताए ।
महोत्सवमा ती चार समुदायका जीवनसंग जोडिएका विभिन्न परम्परागत सामग्रीहरुको प्रर्दशनी र चित्रकला प्रर्दशनी समेत गरिने नन्दा करिडोर केन्द्रका सहसचिव देवेन्द्र दाहालले जानकारी दिए। खानाका सम्पूर्ण परिकारको मूल्य तिरेर स्वाद लिने व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । महोत्सवमा चार जातिका भेषभुषा तथा सांगीतिक प्रस्तुती र रैथाने परिकार सम्बन्धी मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मेचीनगर वडा नं. १० का वडा अध्यक्ष नारायण खनालले स्थानीय समुदायको साँस्कृतिक पक्षलाई उजागर गर्न वडा कार्यालयले सहयोग गरिरहेकाले त्यसकै निरन्तरताका रुपमा यो महोत्सवलाई पनि सहयोग हुने बताए। नन्दा कोरिडोर वडा गौरवकै रुपमा विकास गरिरहेको क्षेत्र भएकाले पनि त्यसमा वडाको सहयोग रहने वडा अध्यक्ष खनालले बताए । उनले महोत्सव अवलोकन गर्न सबैलाई आग्रह समेत गरेका छन् ।
महोत्सव सम्पन्न गर्न मेचीनगर नगरपालिकाले तीन लाख रुपैयाँ उपलब्ध गराउने छ भने पर्यटन कार्यालयबाट समेत केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको नन्दा कोरिडोरका अध्यक्ष खड्काले बताए ।
धुलाबारी स्थित अतिथि हस्पिटालिटिज तथा होटल तालिम केन्द्रमा सम्पन्न पत्रकार सम्मेलनमा शान्ति समाज मेचीनगर १० का अध्यक्ष इन्द्र बहादुर थापा, नन्दा कोरिडोर प्रवर्धन केन्द्रकी सदस्य शुशिला बिष्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव निर्मल दाहालको गरेका थिए ।
प्रतिकृया दिनुहोस्